पोखरा–१५ र हरियोखर्क अस्पतालबीच स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि सम्झौता (भिडियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र २ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २ भदौ,

पोखरा महानगरपालिका वडा नं. १५ र आईएनएफ नेपालअन्तर्गत सञ्चालित हरियोखर्क अस्पतालबीच वडाबासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिकाका उप—प्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा मंगलबार आयोजित एक समारोहबीच वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ र हरियोखर्क अस्पतालका निर्देशक, चिकित्सा सेवा विभागका डा.अरुणकुमार बुढाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारी अनुसार वडा नं. १५ का नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, रोग रोकथाम तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने, विपन्न तथा विशेष आवश्यकता भएका नागरिकलाई स्वास्थ्य सेवा र पुनस्र्थापना सेवामा पहुँच बढाउने तथा रेफरल प्रणालीलाई व्यवस्थित बनाउने योजना रहेको अध्यक्ष बानियाले जनाउनु भयो । । सम्झौता भाद्र २, २०८३ देखि असार मसान्त २०८५ सम्म लागू हुनेछ । दुवै पक्षको आपसी सहमतिमा यसको अवधि नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्झौताअनुसार हरियोखर्क अस्पतालले वडा कार्यालयसँगको समन्वयमा आवश्यकता र स्रोतअनुसार स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ । विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, विशेष आवश्यकता भएका तथा आर्थिक रूपमा विपन्न बिरामीको रेफरल र परामर्शमा समेत अस्पतालले सहयोग गर्नेछ । त्यसैगरी, अस्पतालका उपलब्ध स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा जनचेतनामूलक सामग्री वडा कार्यालयमार्फत समुदायसम्म पु¥याउने व्यवस्था मिलाइनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा समेत समुदाय, विद्यालय तथा सरोकारवालालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।

वडा कार्यालयले स्वास्थ्य शिविर तथा सामुदायिक कार्यक्रमका लागि आवश्यक समन्वय, स्थान व्यवस्थापन र समुदाय परिचालनमा सहयोग गर्नेछ । टोल विकास संस्था, महिला समूह, युवा क्लब तथा अन्य सामुदायिक संस्थालाई कार्यक्रममा सहभागी गराउने, कार्यक्रमको प्रचारप्रसार गर्ने तथा आवश्यकताअनुसार नागरिकलाई अस्पतालमा रेफर र सिफारिस गर्ने जिम्मेवारी पनि वडाको हुनेछ । वडा अध्यक्ष तोरणबहादुर बानियाँले वडाबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो । करिब २७ हजार जनसंख्या रहेको वडा नं. १५ का नागरिकले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सहकार्य अघि बढाइएको उहाँको भनाइ थियो ।

सम्झौताअनुसार हरियोखर्क अस्पतालको ओपीडी सेवामा हाल कायम ४८५ रुपैयाँ शुल्कमध्ये वडा नं. १५ का वडाबासीले वडा परिचयपत्रका आधारमा ४०० रुपैयाँमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ । अस्पतालका अनुसार अघिल्लो आर्थिक वर्ष २०८२÷८३ मा ओपीडी शुल्क ३५० रुपैयाँ रहेकोमा यस वर्षदेखि सेवा तथा विशेषज्ञता विस्तार भएकाले शुल्क समायोजन गरिएको हो । अब सेवाग्राहीले आवश्यकताअनुसार सिधै विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सक्ने अस्पतालले जनाएको छ । ‘पैसाकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस्’ भन्ने उद्देश्यले सामाजिक सेवा विभागमार्फत सहुलियत तथा सहयोगसम्बन्धी प्रक्रिया समेत अघि बढाइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत वर्ष करिब एक करोड रुपैयाँ बराबरको निःशुल्क उपचार तथा सेवा प्रदान गरिएको थियो ।

हरियोखर्क अस्पतालमा हाल विभिन्न विधाका करिब २० जना विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध रहेको र १०० शय्याको अस्पताल सञ्चालनमा रहेको आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले बताउनु भयो । अपाङ्गता पुनस्र्थापना, फिजियोथेरापी, कुष्ठरोग उपचार, बाल स्वास्थ्य तथा प्रशामक सेवासहितका सेवा विस्तार भइरहेका छन्। कृत्रिम अंग निर्माण तथा पुनस्र्थापना सेवामा समेत अस्पतालले विशेष काम गर्दै आएको उहाँले जनाउनु भयो । अस्पतालले आगामी दिनमा सेवा थप विस्तार गर्दै ५०० शय्याको क्षमतामा विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको कार्यकारी निर्देशक अधिकारीले जनाउनु भयो ।

अस्पतालका निर्देशक डा. अरुणकुमार बुढाले वडा क्षेत्रमा हुने सामान्य स्वास्थ्य समस्या तथा विभिन्न घटना–दुर्घटनाबाट प्रभावित बिरामीलाई पहिलो प्राथमिकतामा उपचार उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको बताउनुभयो । समुदायसँगको सहकार्यबाट स्वास्थ्य सेवाको पहुँच अझ प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले वडा नं. १५ र हरियोखर्क अस्पतालबीच भएको सम्झौता अन्य वडाका लागि समेत नमुना बन्न सक्ने बताउनुभया । उहाँले आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्य सेवा पछिल्लो समय महँगो र खर्चिलो बन्दै गइरहेको अवस्थामा स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका अस्पतालसँग समन्वय गरी नागरिकलाई राहत तथा सहुलियतका कार्यक्रम उपलब्ध गराउनु प्रशंसनीय भएको बताउनुभयो । उहाँले एक वडाबाट सुरु भएको यस्तो स्वास्थ्य पहुँच विस्तारको अभ्यासलाई क्रमशः अन्य वडा तथा क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

चसमझदारी अनुसार दुवै पक्षका प्रतिनिधि सम्मिलित संयुक्त समीक्षा बैठक कम्तीमा त्रैमासिक रूपमा आयोजना गरी कार्यक्रमको उपलब्धि, चुनौती र सुधारका क्षेत्रबारे समीक्षा गरिनेछ । सम्झौता गैर–वित्तीय प्रकृतिको भएकाले कुनै पनि पक्षले अर्को पक्षलाई अनिवार्य रूपमा वित्तीय सहायता उपलब्ध गराउनुपर्ने छैन भने आवश्यक कार्यक्रमको स्रोत व्यवस्थापन आपसी सहमति र आ–आफ्नो क्षमताअनुसार गरिनेछ । वडाध्यक्ष तोरण बहादुर बानियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन हरियो खर्कका एकदेव देवकोटाले गर्नु भएको थियो ।