
काठमाडौँ, साउन ३१,
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। यस विधामा यस वर्ष भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्स ९एमएमए० का रवीन्द्र ढाँट मनोनयनमा परेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत २३औँ संस्करणको पिपल्स च्वाइस अवार्डका पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो। खेलाडीको लोकप्रियता र पछिल्लो समयको प्रदर्शनलाई आधार बनाउँदै विभिन्न खेल विधाबाट पाँच खेलाडी छनोट गरिएको मञ्चले जनाएको छ। पिपल्स च्वाइस अवार्डको भोटिङ यस वर्षदेखि नयाँ शैलीमा हुने भएको छ। विगतमा समर्थकले आफूले चाहेको रकमको भोट एकैपटक गर्न सक्ने व्यवस्था रहेकामा यसपटक भने एक समर्थकले एक युजरबाट एक दिनमा एकपटक मात्र भोट गर्न पाउने व्यवस्था गरिएको छ। एउटा भोटका लागि १० रुपैयाँ तोकिएको छ। यद्यपि समर्थकले हरेक दिन आफ्नो मनपर्ने खेलाडीलाई भोट गर्न सक्नेछन्।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले भोटिङ प्रणालीमा परिवर्तन गर्नुको उद्देश्य योग्य खेलाडीलाई प्रतिस्पर्धामा निष्पक्ष अवसर दिनु रहेको बताउनुभयो। “विगतमा समर्थकले चाहे जति रकमको भोट एकैपटक हाल्न सक्ने व्यवस्था थियो। त्यसले योग्य उम्मेदवारभन्दा अन्यले मौका पाउने आलोचना बढ्यो। मञ्चको उद्देश्य नाफा कमाउनु नभई योग्य उम्मेदवारलाई अगाडि ल्याउनु हो। त्यसैले नयाँ तरिका अपनाएका हौँ,” अध्यक्ष अधिकारीले बताउनुभयो।
यसैबीच एनएसजेएफ र विद्युतीय भुक्तानी सेवाप्रदायक खल्ती बाई आईएमईबीच पिपल्स च्वाइस अवार्डका लागि भोटिङ पार्टनरसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा खल्ती बाई आईएमईकी मेनेजर पूजा धामी र एनएसजेएफ अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गर्नुभयो।धामीले खेलाडीको सम्मानमा मञ्चले आयोजना गर्ने अवार्डमा पुनः सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो। मञ्चका महासचिव अञ्जन खड्काले पनि निरन्तर सहकार्यका लागि खल्ती परिवारप्रति आभार व्यक्त गर्नुभयो। एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले पिपल्स च्वाइस अवार्डलाई पल्सर स्पोर्ट्स अवार्डको महत्वपूर्ण विधाका रूपमा व्याख्या गर्नुभयो। उहाँले मनोनयनमा परेका खेलाडी महिनाभर चर्चामा रहने भएकाले यस विधाले समग्र स्पोर्ट्स अवार्डकै आकर्षण र ओज बढाउने बताउनुभयो।
५० प्रतिशत मत खल्तीबाट
पिपल्स च्वाइस अवार्डको विजेता छनोटमा विभिन्न पक्षको मतभार समावेश हुनेछ। खल्ती बाई आईएमईबाट प्राप्त मतको भार ५० प्रतिशत रहनेछ भने बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक तथा खेलकुद पत्रकार मञ्चका सदस्यबाट प्राप्त मतको हुनेछ। फेसबुकमार्फत मतदान गर्दा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्नेछ। खल्तीमार्फत हुने मतदान भने सुरु भइसकेको मञ्चले जनाएको छ। यस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। गत वर्षको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले जितेका थिए।
को–को छन् प्रतिस्पर्धामा !
मीना सुनार (भलिबल)
उदीयमान महिला भलिबल खेलाडी मीना सुनार शक्तिशाली स्पाइकरका रूपमा परिचित छन्। उनले काभा महिला च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गर्नुका साथै काभा महिला क्लब च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्न योगदान दिएकी छन्। उनी एभरेस्ट भलिबल क्लब, बुटवलकी कप्तानसमेत हुन्।
पूजा राना (फुटबल)
पूजा रानाले एसियन कप छनोटअन्तर्गत उज्वेकिस्तानमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले विदेशमा व्यावसायिक फुटबलसमेत खेल्दै आएकी छन्। उनी भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीसँग आबद्ध भइसकेकी छन्।
सानुमाया थिङ (कराते)
कराते खेलाडी सानुमाया थिङले विश्व कराते च्याम्पियनसिपमा सहभागिता जनाएकी छन्। २१औँ एसियन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी उनले दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल कातातर्फ रजत पदक जितेकी छन्। यूकेकेसी वान अल्टिमेट काता तथा कुमिते च्यालेन्जमा पनि उनले स्वर्ण जितेकी छन्।
शेर मल्ल (क्रिकेट)
क्रिकेटर शेर मल्लले आईसीसी टी–२० विश्वकपमा डेब्यु गर्दै पहिलो बलमै विकेट लिएका थिए। मलेसियामा भएको एसियन गेम्स क्वालिफायरमा हङकङविरुद्ध चार तथा मलेसियाविरुद्ध तीन विकेट लिएका उनले नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले। एनपीएलका १० खेलमा उनले १७ विकेट लिएका थिए।
रवीन्द्र ढाँट (मिक्स मार्सल आर्ट्स)
‘बझाङका बाघ’का रूपमा चर्चित रवीन्द्र ढाँट नेपाली एमएमएका चर्चित फाइटर हुन्। उनले गत वर्ष म्याट्रिक्स फाइट नाइट–१७ को बेन्टमवेट च्याम्पियनसिप जितेका थिए। एसिया प्यासिफिक क्षेत्रमा २०५औँ वरीयतामा रहेका ढाँट रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटरसमेत हुन्। मनोनयनमा परेका खेलाडीमध्ये सानुमाया थिङ र मीना सुनार पत्रकार सम्मेलनमा उपस्थित थिए। पूजा राना, रवीन्द्र ढाँट र शेर मल्ल भने विदेशमा रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन्। पिपल्स च्वाइस अवार्डका लागि सुरु भएको मतदानसँगै पाँचै खेलाडीका समर्थकमाझ प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।




