अन्ततः सरकारले तोक्यो दशौं राष्ट्रिय खेलकुदको मिति, मंसिर अन्तिम साता सुर्खेतमा हुने

-


     पोखरा क्लिक     
     श्रावण २८ गते २०८३ मा प्रकाशित


पोखरा,

लामो समयदेखि मिति तोकिँदै र स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः आगामी मंसिरमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले प्रतियोगिता २०८३ मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको राखेपले पोखराक्लिकलाई जनाएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज (बिहीबार) बसेको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरेको हो। राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि अन्योलमा रहेको प्रतियोगिताको आयोजनाबारे निर्णय गरेसँगै कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना हुने बाटो खुलेको छ। दशौं राष्ट्रिय खेलकुद मूलतः २०८१ सालमै कर्णाली प्रदेशमा आयोजना हुनुपर्ने थियो। २०७९ कात्तिक ३ गते नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलाई २०८१ मंसिरमा राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारीसहित झन्डा हस्तान्तरण गरेका थिए।

तर, तोकिएको समयमा प्रतियोगिता हुन सकेन। त्यसपछि राखेपले विभिन्न चरणमा नयाँ मिति घोषणा गर्दै आएको थियो। पछिल्लोपटक १२३औँ बोर्ड बैठकले २०८३ वैशाखमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरे पनि आवश्यक तयारी पूरा हुन नसकेपछि उक्त मितिसमेत कार्यान्वयन हुन सकेन। यससँगै दशौं राष्ट्रिय खेलकुदको मिति पटक–पटक सर्दै आएको थियो। पूर्वाधार निर्माण, तयारी र व्यवस्थापनका विषयलाई लिएर देखिएको अन्योलका कारण प्रतियोगिता अघि बढ्न सकेको थिएन। कर्णाली प्रदेशले प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गरिसकेको अवस्थामा पनि राष्ट्रिय खेलकुदको मिति निश्चित हुन नसक्दा खेलाडी, खेल संघ र आयोजक पक्षमा अन्योल कायम थियो।राष्ट्रिय खेलकुदको इतिहासमा आयोजनाअघि नै बजेट विनियोजन गरिएको र आयोजक प्रदेशले पूर्वाधार निर्माणमा उल्लेख्य लगानी गरेको भए पनि प्रतियोगिता निर्धारित समयमा हुन नसकेको हो। अब भने नयाँ मिति तोकिएसँगै बाँकी तयारीलाई तीव्रता दिनुपर्ने चुनौती आयोजकसामु छ।

पारा खेलकुद पनि हुने

राखेपको बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, बैठकले आगामी २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ। एसियाली खेलकुदको तयारी तथा सहभागितासम्बन्धी बजेट, नर्म्स र व्यवस्थापन निर्देशिकाका विषयमा समेत बैठकले निर्णय गरेको छ।

दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेलको टुंगो लगाउने, आयोजक समिति गठन गर्ने तथा प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका अनुमोदन गर्ने विषय पनि बैठकका एजेन्डामा थिए। बैठकले राखेपको चालु आर्थिक वर्ष २०८३र८४ को बजेट, आन्तरिक आय–व्यय, प्राविधिक जनशक्ति करारमा नियुक्ति, खेलकुदको ग्रासरुट कार्यक्रम सञ्चालन तथा खेल संघलाई अनुदान सहयोगलगायतका विषयमा समेत निर्णय गरेको छ।बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन सम्बन्धित सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गरे। बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तथा परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो। राखेपका सदस्य–सचिव रामचरित्र मेहताले बैठकमा विभिन्न विषयवस्तु प्रस्तुत गरेका थिए।

अब मंसिर १६ गतेदेखि सुर्खेतमा राष्ट्रिय खेलकुदको उद्घाटन हुने भएपछि कर्णालीले पाएको आयोजनाको जिम्मेवारी व्यवहारमा उतार्ने चरण सुरु भएको छ। यसपटक पनि मिति नसरियोस् र निर्धारित समयमै प्रतियोगिता सम्पन्न होस् भन्ने नै नेपाली खेलकुद क्षेत्रको मुख्य अपेक्षा बनेको छ।