पोखरा वडा नं.२२ मा वडा युवा परिषद्को कार्यालय शुभारम्भ

-


     पोखरा क्लिक     
     श्रावण २७ गते २०८३ मा प्रकाशित


पोखरा,

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा महानगरपालिका नगर युवा परिषद् तथा वडा कार्यालयअन्तर्गत रहेको वडा युवा परिषद्ले पोखरा–२२ मा आफ्नो कार्यालयको शुभारम्भ गरेको छ। कार्यालय शुभारम्भ कार्यक्रमको अध्यक्षता नगर युवा परिषद्का सदस्य तथा वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष हिमलाल बराल तथा विशेष अतिथिका रूपमा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने को उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष हिमलाल बरालले वडा युवा परिषद्को कार्यालय नियमित रूपमा खुला राखी वडाभरिका युवाहरूलाई परिषद् आबद्ध गराउँदै युवाका गतिविधि तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्नुभयो। साथै, वडा कार्यालयबाट सेवा लिन आउने वडावासीलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न सहायता कक्ष सञ्चालन गरी सेवा प्रवाहमा समेत सहयोग गर्न वडा युवा परिषद्लाई अनुरोध गर्नुभयो।

त्यस्तै, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले वडा युवा परिषद्ले कार्यालय स्थापना गरेकोमा खुसी व्यक्त गर्दै पोखरा महानगरपालिका नगर युवा परिषद्ले विभिन्न कार्यक्रम तथा गतिविधिमा आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य वडा युवा परिषद्का उपाध्यक्ष उत्तम बरालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन परिषद्का सचिव सहनशील बरालले गर्नुभएको थियो। कार्यक्रममा वडा युवा परिषद्का सहसचिव निश्चल देवकोटा, कोषाध्यक्ष सरस्वती बराल तथा सदस्यहरू सुदीप विक, जीवन पौडेल र प्रसन्न बराल लगायत तथा अन्य वडाका युवाहरुको उपस्थिति रहेको थियो।

कार्यालय स्थापनासँगै सहायता कक्षसमेत सञ्चालनमा ल्याई वडा युवा परिषद्ले वडाका युवाहरूलाई संगठित गर्दै युवा सहभागिता, नेतृत्व विकास, सामाजिक सेवा तथा विभिन्न रचनात्मक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। साथै, वडावासीलाई आवश्यक सूचना, सहजीकरण तथा सहयोग उपलब्ध गराउन परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।