सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण २६ गते २०८३ मा प्रकाशित


जया पौडेल,
पोखरा, २६ साउन,

सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा आयोजना हुने ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ को पूर्व अवसरमा आज (मंगलबार) पोखरा–९ स्थित फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण गरिएको छ । सहारा क्लब पोखराको आयोजना तथा पोखरा महानगरपालिका–९ को समन्वयमा हुने च्यारिटी हाइकिङको प्रचारप्रसारसँगै पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ तथा पुष्परोपण गरिएको क्लवले जनाएको छ ।

कार्यक्रममा विभिन्न जातका एक सय भन्दा बढी फूलका बिरुवा रोप्नुका साथै फलफूल तथा अन्य रुखका बिरुवाको गोडमेल र पार्क तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले सूर्यबहादुर केसी स्मृति मेमोरियल सहारा फुटबल एकेडेमीको सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले च्यारिटी हाइकिङ आयोजना गर्न लागिएको बताउनुभयो । सरसफाइ तथा पुष्परोपण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, लक्ष्मी पहारी, वडा कृषि सञ्जाल पोखरा–९ का अध्यक्ष विमला रानाभाट, सहारा क्लबका बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, पूर्वअध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई कार्यक्रम संयोजक बिनु राना मगरले धन्यवाद दिनुभएको थियो । सहारा क्लब पोखराले लामो समयदेखि सहारा फुटबल एकेडेमी सञ्चालन गर्नुका साथै सामाजिक सेवाका विभिन्न गतिविधि र आहा ! रारा पोखरा गोल्डकप आयोजना गर्दै आएको छ । शनिबारको च्यारिटी हाइकिङले पोखराका पर्यटकीय तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धन, स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि र सामाजिक सेवामा नागरिकको सहभागिता बढाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक आबद्ध भई फुटबल प्रशिक्षण लिइरहेका छन् । “स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित आयोजना हुन लागेको हाइकिङमार्फत एकेडेमीका बालकहरूको प्रशिक्षण तथा आवासीय व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्य छ,” अध्यक्ष थापाले भन्नुभयो । शनिबार हुने हाइकिङ पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्नेछ । हाइकिङमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सहभागीलाई शुल्कमा टी–सर्ट, खाजा र खाना उपलब्ध गराइने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङका अनुसार हाइकिङका लागि हालसम्म करिब दुई सय जनाले नाम दर्ता गराइसकेका छन् । आयोजकले करिब तीन सय जनालाई सहभागी गराउने लक्ष्य राखेको छ । च्यारिटी हाइकिङलाई सफल पार्न विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोगसमेत घोषणा गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ ले २ लाख रुपैयाँ, तमु धिँ यूकेले २ लाख, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले ५० हजार, सहारा क्लबका मानार्थ सदस्य तथा सहारा यूकेका पूर्वअध्यक्ष एमबीई दीपीलकुमार गुरुङले २५ हजार, क्लबका सदस्य तथा सहारा यूकेका सल्लाहकार चन्द्रबहादुर गुरुङले २५ हजार रुपैया, सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्णकुमार गुरुङले १० हजार र क्लबका आजीवन सदस्य मनोज गुरुङले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।