
Screenshot
पोखरा, साउन २३,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले २७औँ फोनिज स्थापना दिवस तथा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरा रङ्गशाला परिसरमा वृक्षरोपण गरेको छ । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले वृक्षरोपणले वातावरण संरक्षणसँगै पोखरा रङ्गशालाको सौन्दर्य अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले फोनिज स्थापना दिवस तथा विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्नुहुदै खेलकुद पूर्वाधारको बिकाससँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुन्दर र सफा पोखराका लागि रङ्गशाला परिसरमा हरियाली प्रवद्र्धनमा विभिन्न निकाय, खेलकुद संस्था, सामाजिक संघसंस्थाको सहभागितामा वृक्षरोपण अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
अध्यक्ष गुरुङले रङ्गशाला परिसरभित्र हालसम्म दुई हजार बढी बोटबिरुवा रोपिसकेकोमा यो आ.व. सुरु भए यता मात्रै तिन सय बढी बोटबिरुवा रोपिएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष खिमा गुरुङले आदिवासी जनजाति समुदायको प्रकृति र वातावरणसँगको परम्परागत सम्बन्धलाई संरक्षण गर्दै वातावरणमैत्री गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । फोनिज स्थापनाले समावेशी र जिम्मेवार पत्रकारिताप्रतिको प्रतिबद्धतालाई स्मरण गराउने अवसर रहेको बताउदै उहाँले विश्व आदिवासी दिवस जनजातिको पहिचान, भाषा, संस्कृति, परम्परा, अधिकार र प्रकृतिकाृ सम्बन्धलाई सम्मान गर्ने महत्वपुर्ण दिन रहेको उल्लेख गर्नुभयो ।
फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले पत्रकारिता क्षेत्रसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा लिच्ची, आँप, जामुन, एभोकाडो, बेलौती, कपुर लगायत प्रजातिका बोटबिरुवा रोपिएको उहाँले बताउनुभयो । बुल्स मेनका अध्यक्ष नुना गुरुङसहित फोनिज कास्कीका कोषाध्यक्ष बस बहादुर शेर्पा (बसन्त), कार्यसमिति सदस्य हुम गुरुङ र बर्षा गुरुङको उपस्थिति रहेको सो कार्यक्रमको संचालन सचिव देबिका तामाङले गर्नुभएको थियो ।





