
दीननाथ बराल,
पोखरा, २३ साउन,
पोखरामा स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ। पोखरा महानगरपालिका–९ को कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा यही साउन ३० गते उक्त हाइकिङ आयोजना गर्न लागिएको क्लवले पोखराक्लिकलाई जनाएको छ ।
हाइकिङ कार्यक्रम आउदो शनिबार पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्नेछ। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो । हाइकिङमा सहभागी हुन प्रति व्यक्ति १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सहभागीलाई उक्त शुल्कमा टी–सर्ट, खाजा र खाना उपलब्ध गराइनेछ। कार्यक्रमबाट संकलित रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगमा प्रयोग गरिनेछ। सहारा एकेडेमीमा हाल पोखरा–१७ दोबिल्लास्थित एकेडेमीमा विभिन्न १६ जिल्लाका ३० जना बालक आबद्ध भई फुटबल प्रशिक्षण लिइरहेका छन्।
कार्यक्रममा हाइकिङसँगै च्यारिटी डिनरसमेत आयोजना गरिनेछ। सामाजिक सेवाको यस अभियानमा तमुधीं यूके, सहारा यूके, एन्फा कास्की लगायत विभिन्न संघसंस्थाको सहयोग रहेको सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी दिनुभयो। हालसम्म हाइकिङका लागि करिब १५० जनाको नाम दर्ता भइसकेको र थप सहभागीलाई समेट्ने तयारी भइरहेको कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो। आयोजकले करिब ३०० जनासम्म सहभागी गराउने लक्ष्य राखेको छ। सहारा क्लब पोखराले लामो समयदेखि सामाजिक सेवाका विभिन्न गतिविधिसँगै सहारा फुटबल एकेडेमी तथा आहा रारा गोल्डकप सञ्चालन गर्दै आएको छ। क्लबको सामाजिक योगदानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले महानगरपालिका–९ को सहकार्यमा हाइकिङ आयोजना गर्न लागिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो। “मानव जीवनमा स्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हो। कम्तीमा एक दिन भए पनि शारीरिक व्यायाम गरौँ भन्ने सन्देश दिनुका साथै सामाजिक सेवामा योगदान गर्ने उद्देश्यले हाइकिङ आयोजना गर्न लागिएको हो,” उहाँले भन्नुभयो।
हाइकिङले पोखराका पर्यटकीय तथा प्राकृतिक क्षेत्रको प्रवर्द्धनसँगै स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने र सामाजिक सेवामा नागरिकको सहभागिता बढाउने अपेक्षा गरिएको छ। “आशा, करुणा र उज्ज्वल भविष्यका लागि सँगै हिँडौँ भन्ने भावनासहित आयोजना हुन लागेको यस अभियानमा सबै क्षेत्रका नागरिकलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।





