
पोखरा, साउन २३,
प्रदेश खेलकुद परिषद् गण्डकीले आर्थिक वर्ष २०८१÷८२ का लागि गरेको पदक वितरण प्रक्रियामा देखिएको भनिएको अनियमितता, लापरवाही र मिलेमतोको आरोपबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आग्रह गरेको छ। मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) र महासचिव परशुराम शर्माले जारी गरेको प्रेस विज्ञप्तिमार्फत पदक वितरण प्रक्रियामा देखिएका विवाद र अनियमितताबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।
मञ्चले पदक वितरणमा संलग्न सम्बन्धित समिति तथा जिम्मेवार पदाधिकारीलाई नैतिक जिम्मेवारी वहन गर्दै भएका त्रुटि सच्याउन आग्रह समेत गरिएको छ । छानबिनका क्रममा दोषी ठहरिने व्यक्तिमाथि कानुन तथा प्रचलित मापदण्डअनुसार आवश्यक कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था मिलाउनसमेत मञ्चले माग गरेको छ। पदक वितरणजस्तो महत्वपूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी, मर्यादित र विवाद रहित हुनुपर्नेमा सार्वजनिक भएका विवरणले कार्यक्रमको गरिमा, सभ्यता र विश्वसनीयतामाथि प्रश्न उठाएको मञ्चको भनाइ छ। विशेषगरी पदकका लागि सिफारिस प्रक्रियामा संलग्न व्यक्तिहरू नै पुरस्कृत भएको भन्ने आरोप सार्वजनिक हुनु गम्भीर र अमर्यादित विषय भएको मञ्चले जनाएको छ। यस्तो कार्य खेलकुदका आधारभूत मूल्य, मान्यता र नैतिकताविपरीत हुने मञ्चको ठहर छ।
‘खेलकुदले अनुशासन, निष्पक्षता, इमानदारी र नैतिकताको शिक्षा दिने क्षेत्र हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता मूल्य र मान्यताको संरक्षण गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै विधि, प्रक्रिया र नैतिकताको उल्लङ्घन भएको देखिनु समग्र खेलकुद क्षेत्रकै लागि दुःखद र लज्जास्पद विषय हो।’ मञ्चले खेलाडीको मनोबल वृद्धि, खेल क्षेत्रको विकास तथा संस्थागत सुशासनका लागि नेतृत्व तहमा उच्च नैतिक आचरण आवश्यक रहेको जनाएको छ। नेतृत्व तहबाटै प्रक्रिया र मापदण्डविपरीतका गतिविधि भएको देखिए त्यसले खेलकुद क्षेत्रप्रति आमनागरिकको विश्वास कमजोर बनाउने जोखिम रहने मञ्चको भनाइ छ। पदक तथा पुरस्कार खेलाडीको योगदान र उपलब्धिको सम्मानसँग जोडिएको विषय भएकाले यसको वितरण प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने मञ्चले जनाएको छ। कुनै व्यक्ति वा समूहको प्रभाव, स्वार्थ वा मिलेमतोका आधारमा पुरस्कार तथा पदक वितरण भएको देखिए त्यसले योग्य खेलाडीको योगदानमाथि समेत अन्याय हुने मञ्चको धारणा छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आफू सधैं स्वच्छ, पारदर्शी, उत्तरदायी र मर्यादित खेल संस्कृतिको पक्षमा रहेको स्पष्ट गर्दै पदक विवादबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। मञ्चले खेलकुद क्षेत्रको गरिमा, खेलाडीको सम्मान र संस्थागत विश्वसनीयता कायम राख्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा समेत जोड दिएको छ।





