इजिप्टमाथि अर्जेन्टिनाको नाटकीय पुनरागमन, ३–२ को रोमाञ्चक जित

-


     पोखरा क्लिक     
     असार २४ गते २०८३ मा प्रकाशित


पोखरा,

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफमा इजिप्टले यासेर इब्राहिमको १५औँ मिनेटको गोलमार्फत १–० को अग्रता बनाएको थियो। दोस्रो हाफको ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० ले अघि बढ्यो।

२–० ले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि ८३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले बराबरी गोल गरे। त्यसपछि अतिरिक्त समयमा जुलियन अल्भारेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविस्मरणीय जित दिलाए।

लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको अर्जेन्टिनाको पुनरागमनलाई यस विश्वकपकै उत्कृष्ट ‘कमब्याक’मध्ये एकका रूपमा हेरिएको छ। इजिप्टले २–० को बलियो अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। खेलभर अधिकांश दर्शकको समर्थन अर्जेन्टिनाको पक्षमा देखिएको थियो। अर्जेन्टिना हार्ने अवस्थामा पुगेको ठानिएका बेला टोलीले नाटकीय रूपमा पुनरागमन गर्दै लाखौं समर्थकलाई खुसी बनाएको हो।