लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

-


     पोखरा क्लिक     
     असार १८ गते २०८३ मा प्रकाशित


लेखनाथ, १८ असार ,

लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस एवं २९ औं वार्षिकोत्सवका अवसरमा संस्थाका सदस्यहरु विच ब्याडमिन्टन तथा दौड प्रतियोगिता सम्पन्न गरेको छ । असार १६ र १७ गते गरि २ दिनसम्म आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी शुभम पार्टी प्यालेसका सञ्चालक हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सञ्चालक सन्तोष गुरुङको समुहले प्राप्त गरेको छ भने गण्डकी मल्टी एग्रो फार्मका सञ्चालक हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका सञ्चालक लक्ष्मण बाँस्तोलाको समुह उपबिजेतामा सिमित हुन पुगेको छ ।

प्रतियोगितामा लेखनाथ आल्मुनियम एण्ड स्टील उद्योगका सञ्चालक भविन्द्र पुन र श्रीराम काष्ठ उद्योगका सञ्चालक उपेन्द्र राज सुवेदीको समुह साथै स्वस्तिका किराना पसलका सञ्चालक खिमनाथ शर्मा र रिस्ता फेन्सी एण्ड कस्मेटिक्सका सञ्चालक रमेश प्रसाद बाँस्तोलाको समुहले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ३० हजार, द्धित्तीय हुने समुहले नगद रु १७ हजार र तृतीय हुने २ समुहले नगद रु ८÷८ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

यस्तै संघको आयोजनामा बिहिबार नै अन्तर सदस्यीय महिला तथा पुरुष दौड प्रतियोगिता सम्पन्न भएको छ । भण्डारढिक खेलमैदानबाट शुरु भई पावरहाउसमा पुगी सम्पन्न भएको प्रतियोगितामा महिला तर्फ छाया बसौला प्रथम भएकी छिन, उनले निर्धारित दुरी १५ मिनेट १३ सेकेण्डमा पुरा गरेकी थिईन भने सोही दुरी १५ मिनेट १७ सेकेण्डमा पुरा गर्दै ईन्दु जोशीले दोश्रो स्थान हासिल गर्न सफल भएकी छिन । यस्तै तृतीय स्थानमा रहन सफल बिनिता गोदारले १७ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गर्न सफल भईन भने सोही दुरी १८ मिनेट ३० सेकेण्डमा पुरा गर्दै लक्ष्मी बाँस्तोलाले सान्त्वना स्थान हासिल गरिन ।

पुरुषतर्फको प्रतियोगितामा राहुल थापा प्रथम भएका छन, उनले निर्धारित दुरी १० मिनेट २६ सेकेण्डमा पुरा गरेका थिए भने सोही दुरी १० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै नारायण काफ्ले दोश्रो स्थान हासिल गर्न सफल भएका छन । यस्तै तृतीय स्थानमा रहन सफल खड्क कुमालले ११ मिनेट ५२ सेकेण्डमा निर्धारित दुरी पार गर्न सफल भए भने सोही दुरी १२ मिनेट १५ सेकेण्डमा पुरा गर्दै रमेश श्रेष्ठले सान्त्वना स्थान हासिल गरे ।
महिला÷पुरुष दुवैतर्फ प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमश नगद १० हजार, ८ हजार, ६ हजार र ४ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

दुवै प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिहरुलाई यहि असार २० गते आयोजना हुने स्थापना दिवस विशेष समारोहमा प्रदान गरिने आयोजकले जनाएको छ । समारोहको गण्डकी प्रदेशका उद्योग मन्त्री यशोदा रिमालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीहरुको विचको आपसी सम्बन्ध र भाईचारलाई अझै प्रगाढ बनाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको र यस्ता कार्यक्रमहरुले सहभागीहरुको स्वास्थ्यमा पनि सकारात्मक भुमिका खेल्ने दाबी गरिन ।