
कास्की,४ असारः पोखराको पृथ्वीचोकस्थित प्रश्तावित बसपार्क क्षेत्रमा निर्माण गरिएको संरचना बिहीबार महानगरपालिकाले डोजर लगाएर भत्काउँदै। बसपार्कका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण
दीननाथ बराल,
पोखरा, ६ असार,
पोखरा बसपार्कमा रहेको बाँस्तोला कम्प्लेक्समा शनिबार डोजर चलेको छ । विहिबार बसपार्क क्षेत्रको उत्तरी क्षेत्र र केही पूर्वी भागमा डोजर चले पनि शनिबार पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बास्तोला थर कम्प्लेक्समा ३ सय २० वटा व्यापारीक सटर तथा अस्थायी घर टहराहरु भत्काइएको पोखरा महानगरपालिकाले पोखराक्लिकलाई जनाएको छ ।
करिब पाँच दशकदेखि अड्किएको बसपार्क निर्माण योजनालाई अघि बढाउन महानगरले अस्थायी घर–टहरा हटाउने काम दुई दिन अघिदेखि बसपार्कमा डोजर लगायर भत्काउन सुरु गरेको थियो । बिहीबारदेखि सुरु भएको अभियान अन्र्तगत उत्तरतर्फ र पूर्वपट्टिका केही भाग गरी १ सय ८० भन्दा बढी अस्थायी घर टहरा तथा सटरहरु खाली गराइएसंगै डोजरको सहायताले भत्काइएको थियो । विहिबार र शनिबार बसापर्कमा डोजर संचालन गरेसंगै ४ सय भन्दा बढी अस्थायी घर तथा टहरा भत्काइएको पोखरा वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो । बास्तोला कम्प्लेक्स क्षेत्रमा थप करिब ३ सय २० संरचना हटाइएको उहाँले जनाउनु भयो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षण र व्यवस्थित शहरी पूर्वाधार निर्माण महानगरको प्राथमिकता रहेको बताउँदै बसपार्कलाई आधुनिक यातायात केन्द्रका रूपमा विकास गरिने स्पष्ट गर्नुभएको छ । उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र व्यवस्थापन प्रक्रिया पनि सँगसँगै अघि बढाइने उल्लेख गर्नुभयो ।
“सार्वजनिक जग्गा संरक्षण अभियानलाई महानगरले प्राथमिकतामा राखेको छ । सुकुम्बासी बस्तीको पहिचान, जग्गा खोजी तथा व्यवस्थापनको काम तीव्र रूपमा अघि बढिरहेको छ,” मेयर आचार्यले भन्नुभयो, “सबै पक्षसँग समन्वय गरेर व्यवस्थित बसपार्क निर्माण गरिनेछ । ” पोखरा वडा नम्बर ९ को कार्यालयमा बसपार्क क्षेत्रमा ५ सय ७५ भन्दा बढी परिवारले आफूहरू सुकुम्बासी तथा अव्यवस्थित बसोबासी भएको भन्दै निवेदन दिएका छन् । ती निवेदनहरूको आधारमा वास्तविक सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचान तथा वर्गीकरणको काम भइरहेको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो । “निवेदन दिएका सबैको विवरण संकलन भइरहेको छ । प्राविधिक र प्रशासनिक रूपमा अध्ययन गरी वास्तविक अवस्था छुट्याउने काम भइरहेको छ,” वडाध्यक्ष मर्सानीले बताउनुभयो। महानगरका अनुसार यसअघि गठन गरिएका समितिहरूले जग्गाधनी, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको यकिन विवरण संकलन र सिफारिसको काम गरिरहेका छन ्। प्राविधिक अध्ययन, कित्ता मिलान, क्षेत्रफल निर्धारण तथा पुनर्वासका सम्भावनाबारे समेत विस्तृत प्रतिवेदन तयार गर्ने काम अघि बढाइएको छ ।
स्थानीयले भने बसपार्कलाई करिब १ सय ८७ रोपनी क्षेत्रफलमै व्यवस्थित रूपमा निर्माण गर्नुपर्ने माग राख्दै आएका छन्। महानगरले भने सुकुम्बासी व्यवस्थापनसहित सबै पक्षसँग सहकार्य गरेर कुनै अवरोधबिना बसपार्क निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । पोखरा बसपार्कलाई आधुनिक, व्यवस्थित र सेवा–सुविधायुक्त यातायात केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढेसँगै क्षेत्रको पुनर्निर्माण कार्यले गति लिएको छ । पोखराको पालिखे परिवार, बास्तोला केही समुदायका व्यक्तिको नाममा बसपार्क क्षेत्र भित्र व्यक्ति जग्गा रहेको केही पोखरा उपत्यका नगर विकास समितिले सट्टा भर्ना दिएकोले बसपार्क क्षेत्रको उत्तरपट्टि केही व्यक्तिको नाममा जग्गा रहेको छ । महानगरको अभियानमा सहयोग गर्न स्थानिय, व्यावसायी र अस्थायी रुपमा बसेका सुकुम्बासीहरुले स्वतः स्फुर्त रुपमा अधिकांश अस्थायी घर तथा टहरा हटाउन सहयोग गर्नु भएको थियो ।





