
पाेखरा, ५ असार,
राष्ट्रिय परीक्षा बोर्डले २०८३ मा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। नतिजाअनुसार पोखरा–७, मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले पुनः उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको छ।
विद्यालयबाट परीक्षामा सहभागी ४०७ विद्यार्थीमध्ये ४०३ जना अर्थात् ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार ११ जना विद्यार्थीले ३.९६ जीपीए प्राप्त गरेका छन् भने २०८ जनाले ३.६० भन्दा माथिको जीपीए हासिल गरेका छन्। त्यसैगरी १४३ जनाले ३.२० देखि ३.६०, ४६ जनाले २.८० देखि ३.२० र ४६ जनाले २.४२ देखि २.८० सम्मको जीपीए प्राप्त गरेका छन्।
विद्यालयका प्रिन्सिपल नारायण बरालले नतिजाप्रति खुसी व्यक्त गर्दै विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक मेहनतको प्रतिफल भएको बताए। उनका अनुसार मदरल्याण्डले विगतदेखि नै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको छ र यस वर्षको नतिजाले पनि विद्यालयको शैक्षिक स्तरलाई पुष्टि गरेको छ।
बरालले सफल भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी अध्ययन र करियर यात्राका लागि शुभकामना व्यक्त गरे। साथै विद्यालयको उत्कृष्ट नतिजाका लागि निरन्तर समर्पित शिक्षक–शिक्षिका तथा सहयोगी अभिभावकप्रति आभार व्यक्त गरे।
मदरल्याण्डले यसअघि पनि राष्ट्रियस्तरमै उल्लेखनीय नतिजा निकाल्दै आएको छ। २०८१ सालको एसईई परीक्षामा विद्यालयका १० जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका थिए भने २०८० सालमा कक्षा १२ तर्फ विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरमै उत्कृष्ट जीपीए हासिल गरेका थिए। प्रिन्सिपल बरालका अनुसार विद्यालयले हरेक वर्ष शैक्षिक गुणस्तर, अनुशासन र विद्यार्थी–केन्द्रित सिकाइलाई प्राथमिकता दिँदै आएको छ, जसको सकारात्मक परिणाम नतिजामा देखिएको छ ।





