महानगरका शिविरमा युआरएलको सहकार्य

-


     पोखरा क्लिक     
     जेठ २४ गते २०८३ मा प्रकाशित


पोखरा, २४ जेठ,

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । महानगरले पाँच स्थानमा शिविर गर्ने योजना बनाएकोमा आइतबारसम्म चार ठाउँमा शिविर भइसकेका छन् । यी शिविरमा रक्त जाँचमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र आँखा जाँचका लागि दृष्टि आँखा अस्पतालले सहकार्य गरेका छन् ।

आइतबार पोखरा–५ को अम्बिका मावि सुइँखेतमा शिविर भएको छ । शिविरमा ४ सय ६५ जना सेवाग्राहीले सेवा लिएका छन् । १ सय ४८ जनाको प्रयोगशाला परीक्षण, आरबिएस जाँच एक सय २७ जना, टिएसएच जाँच ५० जना, टिजी जाँच २० जना, युरिक एसिड जाँच ६५ जना तथा पिसाबसम्बन्धी जाँच ७२ जनाको भएको छ । सोही शिविरमा २ सय ६९ जनाले आँखा परीक्षण सेवा लिएकोमा ३५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । स्वास्थ्य महाशाखाले शनिबार पोखरा २३ स्थित सिद्ध वराह माध्यमिक विद्यालयमा शिविर आयोजना गरेको थियो । सो शिविरमा ५ सय २३ सेवाग्राहीले सेवा लिएका छन् । ३३२ जनाको आँखा परीक्षण, २१० जनाको प्रयोगशाला परीक्षण भएको छ ।

स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले समुदायस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ महानगरले शिविर आयोजना गरेको बताए । समुदायको स्वास्थ्य प्रवद्र्धन र नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्न शिविरले सघाउने उनको भनाइ छ । स्वास्थ्य महाशाखाले यसअघि पोखरा २१ स्थित द्वारमा आयोजना गरेको शिविरमा शिविरमा २ सय १७ जनाले सेवा लिएका थिए भने पोखरा ३२ तल्लो गगनगौंडामा भएको शिविरमा ५ सय २७ जनाले सेवा लिएका थिए । महाशाखाले निशुल्क शिविर अन्तर्गतको पाँचौं अर्थात् अन्तिम शिविर असार ३० गते पोखरा २० को आँटीघर, मौजामा गर्दै छ ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले आइतबार युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यमा २ सय ३० औं शिविर आयोजना गरेको बताए । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी प्रदेशबासीलाई सुलभ र सहज सेवा दिन युआरएल लागिपरेको उल्लेख गरे । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले गण्डकी प्रदेशका २४ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।