
पोखरा,
कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माको सरुवा भएको छ । गृह मन्त्रालयको हालैको निर्णयअनुसार शर्मा धनकुटाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएको हो ।
उहाँको सरुवासँगै सहसचिव कुमानसिंह गुरुङ कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन हुनुभएको छ। गृह मन्त्रालयले नियमित प्रशासनिक सरुवाअन्तर्गत जिल्लाका प्रमुख प्रशासनिक जिम्मेवारीहरू हेरफेर गर्दै गुरुङलाई कास्की पठाएको जनाएको छ।शर्मा करिब एक वर्षदेखि कास्कीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदै जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह, विपद् व्यवस्थापन तथा प्रशासनिक समन्वयका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँको कार्यकालमा विभिन्न राष्ट्रिय तथा स्थानीय महत्वका कार्यक्रम, निर्वाचन व्यवस्थापन तथा सुरक्षा समन्वयका कामहरू सम्पन्न भएका थिए। गृह मन्त्रालयका अनुसार प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी, गतिशील र सन्तुलित बनाउन अवधि पुगेका प्रमुख जिल्ला अधिकारीहरूको नियमित सरुवा तथा पदस्थापन गरिएको हो।
कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउन लाग्नुभएका गुरुङले छिट्टै कार्यभार सम्हाल्ने तयारी भइरहेको छ। उहाँको आगमनसँगै जिल्लाको प्रशासनिक नेतृत्वमा नयाँ जिम्मेवारी र कार्यशैलीको अपेक्षा गरिएको छ। सरुवासँगै कास्की प्रशासनको नेतृत्व परिवर्तन भएको छ भने नयाँ सिडिओ गुरुङले जिल्लाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र विकास निर्माणका गतिविधिमा समन्वयात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।





