
पोखरा,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको जिल्ला सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा भएको निर्वाचनमा अधिकारीले निकटतम प्रतिद्वन्द्वी एकराज न्यौपानेलाई मात्र एक मतको अन्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।निर्वाचन परिणामअनुसार अधिकारीले ११५ मत प्राप्त गर्नुभयो भने न्यौपानेले ११४ मत ल्याउनुभयो। खसेको कुल २३३ मतमध्ये ४ मत ‘नो भोट’ अर्थात् कुनै पनि उम्मेदवारलाई नदिइएको पाइएको छ। पार्टीका २९० मतदाता रहे पनि सबैले मतदान नगरेको जनाइएको छ।
त्यसैगरी सचिव पदमा विश्वराज पौडेल निर्वाचित हुनुभएको छ। उहाँले १२२ मत प्राप्त गर्दा प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत प्राप्त गर्नुभयो। उपसभापतिमा चिनबहादुर गुरुङ तथा सहसचिवमा सुजन बस्ताकोटी निर्विरोध निर्वाचित हुनुभएको छ। कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत चयन गरिने पार्टीले जनाएको छ। जिल्ला कमिटीका १० सदस्य पदमध्ये केही सदस्य निर्विरोध चयन भएका छन् भने बाँकी चार सदस्य पदका लागि मतदान गरिएको थियो। एक मतको अत्यन्तै झिनो अन्तरमा सभापतिको टुंगो लागेसँगै अधिवेशनले पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा र कार्यकर्ताको सक्रिय सहभागिता झल्काएको छ। नव निर्वाचित नेतृत्वले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी राजनीतिक अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।





