
पोखरा, १९ जेठ,
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने दीर्घकालीन योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै विभिन्न कार्यक्रम सहित कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा, खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताउनु भएको हो ।
दोस्रो पञ्चवर्षीय योजनाको सोचलाई आत्मसात् गर्दै ल्याइएको यस नीति तथा कार्यक्रममा पर्यटन, दिगो कृषि, पूर्वाधार विकास, प्रशासनिक सुधार, स्वास्थ्य, शिक्षा र हरित अर्थतन्त्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । परम्परागत टुक्रे योजनाहरूलाई निरुत्साहित गर्दै रणनीतिक र रूपान्तरणकारी आयोजनामा बजेट केन्द्रित गर्ने उहाँले जनाउनु भयो ।





