
पोखरा,
नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेतीनदीमाथि निर्माणाधीन अबस्थामा रहेको सिग्नेचर पुल निर्माणको काममा कुनै पनि बहानाबाजी नगरी निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पृथ्वीचोकमा रहेको सेतीनदीमाथि निर्माण भइरहेको पुलको प्रगति बुझ्न मन्त्री लम्साल आज (सोमबार) स्थलगत अवलोकन गर्नु भएको थियो ।
स्थानीय अवरोधका कारण प्रभावित उत्तरतर्फको पुलको अवस्था निरीक्षण गर्दै उहाँले आयोजना सम्पन्न गर्न देखिएका समस्या तत्काल समाधानका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै निर्माण कम्पनीलाई अब थपिएको समय सिमा भित्र कुनै पनि बहाना बाजी नगरी सम्पन्न गर्न निर्देशन दिनु भएको हो । अवलोकनका क्रममा मन्त्री लम्सालले निर्माण व्यवसायीलाई ढिलासुस्ती नगर्न आग्रह गर्दै तोकिएको समयसीमाभित्र पुल निर्माण सम्पन्न गर्न अनुरोध गर्नुभयो । उहाँसँगै पर्यटन मन्त्री गनेस पौडेल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा आयोजना र निर्माण कम्पनीका प्रतिनिधिहरू समेत सहभागी रहेको थियो ।
आयोजनाको सरकारी तथ्यांक अनुसार हालसम्म पुल निर्माणको भौतिक प्रगति ६०.१४ प्रतिशत र वित्तीय प्रगति ५४.७५ प्रतिशत पुगेको छ । तर निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले भने समग्र आयोजनाको प्रगति करिब ७० प्रतिशत पुगेको दाबी गरेको छ । निर्माण कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाका अनुसार समान लम्बाइका दुईमध्ये दक्षिणतर्फको पुलको निर्माण करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ । चीनबाट आवश्यक केबलहरू आएकाले मुख्य संरचनाको काम तीव्र रूपमा अघि बढिरहेको र दक्षिणतर्फको पुल आगामी दशैंसम्म सञ्चालनयोग्य बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
तर उत्तरतर्फको पुल निर्माण भने स्थानीय अवरोधका कारण प्रभावित भएको छ । पुल क्षेत्रभित्र पर्ने दुई निजी घर तथा अन्य संरचनाको मुआब्जा विवाद समाधान हुन नसक्दा उक्त भागमा निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । हाल उत्तरतर्फको पुलको निर्माण प्रगति करिब ६० प्रतिशत पुगेको निर्माण पक्षले जनाएको छ । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विवादित घरधनीसँग एक साताभित्र संरचना हटाउने सहमति भएको जानकारी दिँदै सहमति कार्यान्वयन नभए कानुनी प्रक्रिया अनुसार हटाइने चेतावनी दिनु भएको छ । अब मुआब्जा तथा संरचना व्यवस्थापनका कारण निर्माण कार्य अवरुद्ध हुन नदिने उहाँले जनाउनु भयो ।
निर्माण कम्पनीले पछिल्लो समय पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको मूल्य ३५ देखि ५० प्रतिशतसम्म बढेकाले लागत व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ । मूल्य समायोजनको व्यवस्था भए निर्माण कार्य थप तीव्र गतिमा अघि बढाउन सकिने निर्माण कम्पनीका प्रतिनिधि देवकोटाले बताउनुभयो । अन्यथा हालको आर्थिक अवस्थामा निर्माण सामग्री खरिद र कार्य सञ्चालनमा चुनौती बढ्दै गएको उहाँको भनाइ छ । उक्त परियोजना सुरु गर्दा प्रति लिटर डिजेलको मुल्य १४७ रहेको तर हाल उक्त मुल्य बढेर २ सय २४ पुगेकोले सोही अनुसारको निर्माण सामाग्रिमा भारी मुल्य बृद्धि भएकोले राज्यले यसको समायोजन गर्नुपर्ने निर्माण कम्पनीको माग रहेको छ ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण भइरहेको यो पुल नेपालकै नमूना ‘केबल–स्टेड’ अर्थात् सिग्नेचर पुलका रूपमा विकास भइरहेको छ । दुईवटै पुल १९०–१९० मिटर लम्बाइका हुनेछन् भने सवारीसाधन र पैदल यात्रु दुवैका लागि आधुनिक सुविधासहित निर्माण भइरहेका छन् ।२०७९ साउन २६ गते सम्झौता भएको यो आयोजनाको निर्माण अवधि विभिन्न कारणले दुई पटक थप भइसकेको छ । संशोधित कार्यतालिका अनुसार आगामी २०८३ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल सञ्चालनमा आएपछि पृथ्वीचोक क्षेत्रमा हुने ट्राफिक जाम व्यवस्थापनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी पोखरा रंगशालामा ठूला खेलकुद प्रतियोगिता सञ्चालन हुँदा हुने सवारी चाप व्यवस्थापनमा समेत पुलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । साथै पोखराको नयाँ पहिचानका रूपमा स्थापित हुने यो सिग्नेचर पुलले पर्यटकीय आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।





