गत वर्षको विजेता हिमालयन बोर्डिङलाई हराउँदै स्पाइरल ग्लेक्सी स्कुल वडाध्यक्ष कपको सेमिफाइनलमा

-


     पोखरा क्लिक     
     जेठ १४ गते २०८३ मा प्रकाशित


पोखरा १४, जेठ,

गत वर्षको विजेता हिमालयन बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै स्पाइरल ग्लेक्सी स्कुल पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पाइरल ग्लेक्सीका प्रमिस रत्न ‘म्यान अफ द म्याच’ घोषित भए ।


गतबर्ष हिमालयन बोर्डिङ स्कुलले चौथो संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधि जितेको थियो । हिमालयनले फाइनलमा एल.पी. देवकोटा मेमोरियल स्कुललाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । विहिबार ३ वटा पि—क्वाटर फाइनलका खेलहरु सम्पन्न भएको खेल संयोजक बिकास रानाभाटले बताए । शिशु निकेतन इङसिल सेकेण्डरी स्कुलले शिशु कल्याण स्कुललाई २–१ गोलअन्तरले पराजित ग¥यो । शिशु निकेतनका सञ्जित जङ थापा ‘म्यान अफ द म्याच’ घोषित भए । त्यसैगरी वेस्टपोइन्ट बोर्डिङ स्कुललाई १–० गोलअन्तरले हराउँदै शान्ति निकुञ्ज बोर्डिङ स्कुलले अन्तिम आठमा स्थान बनायो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका उज्ज्वल रोकाले ‘म्यान अफ द म्याच’ उपाधि हात पारे । त्यसै गरी अर्को पि—क्वाटरफाइनल खेलमा बालोदय बोर्डिङले छोरेपाटन माविलाई २–१ गोलअन्तरले पराजित ग¥यो । बालोदयका निसान भुजेल ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोलि (शनिबार) तीन वटा क्वाटरफाइनल खेल सञ्चालन हुने म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए । खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालयस्तरीय फुटबल खेलको विकास तथा ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित उक्त प्रतियोगितालाई निरन्तरता दिइएको क्लवका अध्यक्ष रमेशप्रसाद बरालले बताए । पोखराको ड्यामसाइड क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा प्रतियोगिता जारी रहेको छ । प्रतियोगिता यही जेठ १७ गतेसम्म संचालन हुने भएको हो ।