
पोखरा, २२ वैशाख,
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभएको छ ।पोखरामा मंगलबार ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान’ अर्पण समारोहमा प्रदेश प्रमुख भट्टले नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु ।’ भट्टले भने ।पत्रकारिता पेसा मात्र होइन, यसलाई महत्वपूर्ण सामाजिक दायित्व र चुनौतीपूर्ण सेवाका रुपमा लिनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रको चौथो अङ्गका रूपमा समाजलाई सही मार्गमा अघि बढाउने जिम्मा पत्रकारिता जगतमै रहेको बताउनुभयो ।
‘सत्य, निष्पक्ष र उत्तरदायित्व वहन गर्दै सही सूचना समाचार प्रवाह गर्ने पत्रकारिता जगत राज्य र नागरिकबीचको सेतु हो । जसले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।’ उहाँले भन्नुभयो । प्रदेश प्रमुख भट्टले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै यो एआई डिजिटल युगमा आफूलाई समयानुकूल अपडेट गर्दै क्षमता अभिवृद्धितर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो – ‘बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न थालिसकेको छ । भ्रामक सूचनाको भीडमा सत्य र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्नु आजको मुख्य आवश्यकता हो ।’
आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् रहेको र श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबलिकरणको दिशामा राज्यले उचित ध्यान पुर्याउनुपर्ने मनन पनि गर्नुभयो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्दछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई बधाई ज्ञापन गर्दै उनले प्रजातन्त्र सेनानी दयाशंकर पालिखेले प्रजातन्त्रको स्थापना र सम्वद्र्धनमा पर्याएकोे योगदानको स्मरण पनि गनर््ुभयो । पत्रकारद्धयलाई जनही १ लाख १ हजार १ सय ११ नगदसहित सम्मान गरिएको हो । तनहुँको दमौलीमा जन्मनु भएका बस्नेत विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत उहाँ विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा काम गरेको अनुभव रहेको छ । त्यस्तै, पोखराका बराल २०५५ सालदेखि पत्रकारितामा सक्रिय रहँदै अन्नपूर्ण पोस्ट् दैनिक र बीबीसी नेपाली सेवामा कास्की संवाददाताका रूपमा कार्यरत छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजक रविन्द्र बाँस्तोला, पुरस्कार स्थापित परिवारबाट सुनयना पाखिले, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, प्रेस यूनियन कास्कीका अध्यक्ष बासु मिश्र, महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, सचिव भुपाल गुरुङ लगायतले पत्रकारिताको बारेमा चर्चा गरे ।



