पोखरामा पनि भाटभटेनी सुपरमार्केट आजदेखि सञ्चालनमा, ग्राहकको भिडभाड सुरु

-


     पोखरा क्लिक     
     वैशाख २१ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २१, वैशाख,

पोखरामा पनि आज (सोमबार) देखि भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । करिब ८ महिनापछि पुनः सञ्चालनमा आएको स्टोरमा पहिलो दिनदेखि नै ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।

स्टोर दैनिक बिहान १० बजेदेखि नियमित रूपमा खुला रहने भाटभटेनी सुपर मार्केटको व्यबस्थापनले जनाएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सेवा र गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको संचालक मिन बहादुर गुरुङले बताउनु भयो । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा स्टोरमा क्षति पुगेको थियो। त्यसपछि मर्मत, पुनर्निर्माण तथा रेट्रोफिटिङ कार्य सम्पन्न गरी स्टोरलाई पुनः पुरानै स्वरूपमा सञ्चालनमा ल्याइएको उहाँले जनाउनु भयो । देशभर शाखा विस्तार गर्दै हजारौं युवालाई रोजगारी दिने योजना रहेको बताउदै गुरुङले सुपरमार्केटबाट प्राप्त नाफालाई सामाजिक कार्यमा लगानी गर्ने परम्परा आगामी दिनमा पनि जारी रहने उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले पनि स्टोर पुनः सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै कठिन परिस्थितिमा पनि अघि बढ्ने प्रेरणादायी सन्देश दिएको बताउनु भयो । भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले चुनौतीपूर्ण परिस्थितिका बाबजुद व्यवसाय पुनः सञ्चालनमा ल्याउनु केवल व्यावसायिक कदम मात्र नभई साहस, धैर्यता र दृढताको उदाहरण भएको मेयर आचार्यले बताउनु भयो । उहाँले यस क्षेत्रका युवालाई रोजगारी सिर्जना गर्नुका साथै गुणस्तरीय सेवा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

पुनः सञ्चालनको पहिलो दिन स्टोर परिसरमा ग्राहकको चहलपहल बढेको देखिएको छ भने अध्यक्ष गुरुङसँग तस्बिर खिच्नेहरूको समेत भीड लागेको थियो । भाटभटेनी समूहले ग्राहक, शुभेच्छुक तथा सरोकारवालाबाट प्राप्त निरन्तर सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।