लेकसिटी कलेजमा समावेशिताको सन्देश

-


     पोखरा क्लिक     
     वैशाख १८ गते २०८३ मा प्रकाशित


पोखरा, १८ वैशाख,

केही समयका लागि आँखामा पट्टी बाँधिँदा संसार अचानक शून्यजस्तै हुन्छ । न देखिने बाटो, न चिनिने अनुहार, केवल अनुमान र अनुभूतिको भरमा अघि बढ्नुपर्ने अवस्था देखीन्छ । पोखरा महानगरपालिका वडा न ४ गैह्रापाटन स्थित लेकसिटी कलेजका विद्यार्थीहरूले यस्तै अनुभवसँग साक्षात्कार गरे, जहाँ श्रवण दृष्टि विहीन संघ नेपालको आयोजनामा कलेज परिसरमा हालै एक फरक किसिमको सचेतनामूलक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रम केवल औपचारिक भाषणमा देखिएन । यसले सहभागीहरूलाई प्रत्यक्ष अनुभूतिमार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवन बुझ्ने अवसर दियो । समावेशी समाज निर्माणको सन्देश बोकेको यस कार्यक्रममा वक्ताहरूले अधिकार, अवसर र संवेदनशीलताको महत्ववारे प्रष्ट पारेका थिए । संस्थाकी संयोजक प्रतिभा सुवेदीले श्रवण दृष्टि विहीनताको वास्तविकता उजागर गर्दै भनिन् । “हामीले उनीहरूलाई दया होइन, अवसर दिनुपर्छ ।” उनका अनुसार, सही सहयोग र वातावरण पाएमा यस्ता व्यक्तिहरू पनि समाजका सक्रिय र सक्षम सदस्य बन्न सक्ने छन् । फिजियोथेरापिस्ट निशा रानाले यस अवस्थाका कारण, चुनौती र पुनस्र्थापना सम्बन्धी सेवाबारे जानकारी दिँदै प्राविधिक सहयोगको आवश्यकता औंल्याइन् । त्यसैगरी सचिव हरि केसीले भने अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरेका दैनिक संघर्ष र अधिकारका लागि भइरहेको प्रयासबारे जानकारी गराए । आँखामा पट्टी बाँधेर सेतो छडीको सहारामा हिँड्दा कलेजका विद्यार्थीहरूले केवल बाटो होइन, जीवनकै कठिनाइ छर्लङ्ग महसुस गरे । एकछिनको त्यो अन्धकारले उनीहरूलाई गहिरो सन्देश दियो–दृष्टिविहीन जीवन केवल शारीरिक अवस्था होइन, सामाजिक चुनौती पनि हो ।

अभ्यासपछि बिए प्रथम वर्षमा अध्ययनरत इविक कर्माचार्य र द्धित्तिय वर्षमा अध्ययरनत दीपा दवाडीले आफ्ना अनुभूति बाँड्दै भने, “हामीले आज मात्र थोरै समयका लागि अनुभव ग¥यौं, तर उनीहरू त सधैं यस्तै परिस्थितिमा बाँचिरहेका हुन्छन्।” उनीहरूले समाज अझ संवेदनशील र सहयोगी बन्नुपर्ने आवश्यकता औंल्याए । यस कार्यक्रमले केवल जानकारी मात्र दिएन, सोच्ने तरिका नै बदल्ने प्रयास गरेको छ ।