शुक्रबार देखि पोखरामा महिला गोल्डकप फुटवल, उद्घाटन खेलमा आयोजक आर.एस. पोखरा र नेपाल पुलिस भिड्ने

-


     पोखरा क्लिक     
     वैशाख १७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १७, वैशाख,

पोखरामा भोलि (शुक्रबार) देखि महिला गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदानमा भोलि हुने उद्घाटन खेलमा आयोजक आर ंएस. क्लब र नेपाल पुलिस क्लब बिच हुने भएको छ ।

पोखरामा महिला फुटबलको विकास गर्ने उद्धेश्यका साथ पहिलो पटक महिलाको उक्त प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष रमेश कार्कीले बताउनु भयो । पोखराले महिला फुटबलको अभाव झेलिरहेको अवस्थामा पहिलो पटक हुने ठूलो प्रतियोगिताले यहाँको फुटबल फेरी जुरमुराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । पहिलो संस्करण भएका कारण अधिकांशले प्रतियोगिता नै नहुने आशंका गरिरहँदा आफुहरुले त्यसलाई चिर्दै प्रतियोगिता गर्ने गरी अन्तिम तयारी पूरा गरेको उहाँले सुनाउनु भयो । पोखरामा यस अघि महिलाको गोल्डकप हुन सकेको थिएन् ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसै गरी उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुसासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रवद्र्धकको रुपमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिका रहेका छन् ।