
दीननाथ बराल,
पोखरा, १७ वैशाख,
अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले पोखरामा रहेका सुकुम्बासी बस्ती हटाउने कार्य अघि बढाउनु अघि वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक व्यवस्था गरेर मात्र हटाउन सरकारसँग जोडदार माग गरेको छ । विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष रुद्र गौतमले बिना विकल्प गरिब तथा श्रमजीवी जनताको घरटहरा भत्काउने कार्य अमानवीय हुनु बताउनु भयो ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित रूपमा पुनस्र्थापना नगरी डोजर प्रयोग गरी हटाउने कार्यले सामाजिक अन्याय बढाउने उहाँको भनाई थियो । पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै सुकुम्बासी बस्ती हटाउने तयारी थालेपछि विभिन्न ट्रेड युनियनहरूमा त्रास सिर्जना भएको महासंघको भनाइ छ । यदि राज्यले जबरजस्ती हटाउने प्रयास गर त्यसका बिरुद्ध आफूहरू आन्दोलनमा उत्रिने अध्यक्ष गौतमले चेतावनी दिनुभयो ।
अध्यक्ष गौतमले सरकारले निष्पक्ष रूपमा सबै अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु गरेको खण्डमा मात्र आफूहरू पनि सहयोग गर्न तयार रहेको जनाउनु भयो । पोखरा बसपार्क क्षेत्रमा रहेको करिब २०५ रोपनी जग्गा व्यवस्थित रूपमा विकास गर्नुपर्ने धारणा राख्दै, कुनै विभेद बिना सबै संरचना हटाइए आफूहरूले प्रयोग गरिरहेको जग्गा समेत खाली गर्ने अध्यक्ष गौतमको दाबी छ । पोखरा बस पार्कको जग्गा २०३१ सालमा अधिग्रहण गरी २ सय ५ रोपनी क्षेत्रफलमा बसपार्क बनाउने योजना अघि सारे पनि हाल पोखरा बसपार्कको १९ रोपनी मात्र जग्गा खाली रहेको उल्लेख गरिएको छ । बाँकी जग्गा केही भाडामा त केही सुकुम्बासी बस्तीले ढाकिएको छ ।
पोखरा बस पार्कमा एक बिद्यालय सहारा आधारभूत बिद्यालय सतिह ४ सय ५७ घर तथा टहरा रहेको जनाइएको छ । त्यसैगरी, महासंघले बढ्दो महँगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र श्रमिकहरूको रोजगारी संकटप्रति पनि चिन्ता व्यक्त गरेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न र श्रमिकमैत्री नीति ल्याउन सरकारसँग माग गरेको छ । साथै, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन गर्न पनि महासंघले जोड आवाज उठाएको छ । महासंघले सरकार समक्ष श्रमिकहरूको मौलिक अधिकार सुनिश्चित गर्दै मानवीय र न्यायपूर्ण नीति अवलम्बन गर्न आग्रह गरेको छ । विश्व मजदुर दिवसको एक दिन अघि महासंघले उक्त माग अघि सारेको हो । यसैबिच, पोखराका मेयर धनराज आचार्यले यसपाली कुनै पनि हालतमा पोखरामा रहेका सुकुम्बासी बस्ती स्वत स्फुर्त रुपमा हटाउन आग्रह गर्नु भएको छ ।




