सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान रजत जयन्ती, राष्ट्रिय विभूति घोषणा गर्न माग

-


     पोखरा क्लिक     
     वैशाख १४ गते २०८३ मा प्रकाशित


पोखरा,

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती समारोह मनाएको छ । प्रतिष्ठान स्थापना भएको २५ औँ वर्ष उपलक्ष्यमा सोमबार नाथु प्रल्हाद स्मृति भवन पोखरा–२५ हेमजा याम्दीको सभा हलमा विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको हो । कार्यक्रममा प्रतिष्ठानले सुब्बा नाथु गुरुङ र सुब्बा प्रह्लाद गुरुङका विषयमा केन्द्रित रहेर प्रकाशन गरेको रजत स्मारिका २०८३ को विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानीत हुनेहरुमा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपाली, वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा, प्रतिष्ठानका सल्लाहकार प्रा.डा. जगमान गुरुङ, उपरथी भोलानाथ थापा रहेका छन् । उनीहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसै गरी स्नातक तहमा उत्तीर्ण हुने विद्यार्थीहरू सिनम गुरुङ, निशा गुरुङ, सिजन गुरुङ, विसन गुरुङ, पुकार गुरुङ, प्रतिक्षा गुरुङ, साहिल गुरुङ, ई. विनोद गुरुङ र गौरव गुरुङलाई सम्मान गरिएको थियो ।

त्यस्तै प्रतिष्ठानमा स्थापना गरेको अक्षयकोषबाट आश बहादुर गुरुङ र प्रवित्रा गुरुङलाई छात्रवृत्ति प्रदान गरिनुको साथै पृथ्वीनारायण क्याम्पसमा इतिहास विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी नवराज भण्डारीलाई सम्मान गरिएको थियो । त्यस अवसरमा प्रतिष्ठानमा आजीवन सदस्य लिने सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका थिए । सुब्बा नाथु प्रल्हादले राष्ट्रियताको रक्षा सीमा सुरक्षाका निम्ति वीरताका साथ लडाई गरेर वीरगति प्राप्त गरेको बताउँदै वीरताको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् । सुब्बा नाथु प्रल्हादको वीरतालाई राज्यले सम्मान गर्न नसक्नु दुःखद रहेको उनीहरूको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीले सुब्बा नाथु प्रल्हादको बलिदानी अतुलनीय रहेको बताउँदै उनीहरूलाई राज्यले कहिल्यै बिर्सन नुहुने बताए । वरिष्ठ अधिवक्ता डा.खिमलाल देवकोटाले सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङ केबल इतिहासका पात्र मात्र नभई राष्ट्रका सच्चा रक्षक वीरता र बलिदानको प्रतीक भएकोले राज्यले उनीहरूलाई राष्ट्रिय विभूतिको घोषणा गर्न ढिलाइ गर्न नहुने उल्लेख गरे ।

प्रतिष्ठानका सल्लाहकार प्रा.डा.जगमान गुरुङले राष्ट्रियताको रक्षामा लडेर साहदात प्राप्त वीर पुरुषलाई राज्यले राष्ट्रिय विभूतिको रुपमा स्विकार गर्न नसक्नु दुःखद भएको बताए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रा.डा. दिल बहादुर क्षेत्री, सल्लाहकार सु. कर्णबहादुर गुरुङ, तमु धी नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर तमु, संस्थापक अध्यक्ष कर्म तमुले बोलेका थिए । सुब्बा नाथु प्रह्लाद प्रतिष्ठानका अध्यक्ष चीजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रिभानचौर नाथु पल्हाद ङेह«ो पैंगिलामा परिवार समितिका अध्यक्ष अ.का.डम्मर बहादुर गुरुङले स्वागत र प्रतिष्ठानका सचिव यामबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।