
दीननाथ बराल,
पोखरा १३, वैशाख,
पोखराको पृथ्वीचोकस्थित हङकङ बजारका व्यवसायीहरूले अत्यधिक भाडा वृद्धिको विरोध गर्दै टेण्डर खारेज गर्न माग गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले हालको भाडादरभन्दा ५ देखि १२ गुणासम्म वृद्धि हुनेगरी टेण्डर आह्वान गरिएको भन्दै यसले साना व्यवसायी विस्थापित हुने अवस्था सिर्जना गरेको गुनासो गरेका हुन् ।

ठेकेदार कम्पनीले अत्यधिक उच्च दरमा बजार ठेक्कामा लिएपछि त्यसको प्रत्यक्ष असर व्यवसायीमाथि पर्ने भएको भन्दै पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले उक्त टेण्डर खारेज गरी बैज्ञानिक भाडा दर कायम गर्न माग गर्नुभयो । “भाडा १० गुणासम्म बढ्ने अवस्था आएको छ, यस्तो अवस्थामा साना तथा मध्यम व्यवसायी टिक्न सक्दैनन्,” उहाँले भन्नुभयो । यदि प्रस्तावित भाडा वृद्धि कार्यान्वयनमा आएमा अधिकांश व्यावसायीहरु पलायन हुनुपर्ने अबस्था आउन सक्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । हाल पनि करिब ३० देखि ४० प्रतिशत व्यवसायी विस्थापित हुने जोखिममा रहेको उहाँले जनाउनु भयो ।
करिब १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार २०६९ सालदेखि सञ्चालनमा आएको हो, जहाँ हाल करिब ४ सय व्यवसायी आबद्ध छन् । सस्तो बजारका रूपमा परिचित यस स्थानमा कम भाडाका कारण उपभोक्ताले पनि सहुलियत मूल्यमा सामान पाउँदै आएका छन्। तर पछिल्लो पटक बजार ५ वर्षका लागि १ करोड ६२ लाख रुपैयाँमा ठेक्कामा गएको र यसअघि वार्षिक करिब ३ लाख रुपैयाँ रहेको भाडा क्रमशः बढ्दै ११ लाखभन्दा माथि पुगेको पृष्ठभूमिमा अहिलेको नयाँ दर व्यवसायीका लागि असह्य भएको व्यवसायीको भनाइ छ ।
समितिले भाडादर निर्धारण गर्दा वैज्ञानिक मापदण्ड अपनाउन र साना व्यवसायी संरक्षण हुने नीति ल्याउन माग गरेको छ । साथै बिचौलियाको हस्तक्षेप अन्त्य गरी बजारको व्यवस्थापन सम्बन्धित सरकारी निकायले नै गर्नुपर्ने सुझाव पनि दिएको छ । “हामी सरकारलाई सिधै भाडा तिर्न तयार छौं, तर बिचौलियाको भूमिका अन्त्य हुनुपर्छ,” अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो । कोभिड–१९ पछिको आर्थिक मन्दीबाट प्रभावित व्यवसायीहरू अझै उकासिन नसकेको अवस्थामा यस्तो भाडा वृद्धि अन्यायपूर्ण भएको उहाँहरुकोे तर्क छ । समितिका सचिव दीनेश आचार्यले माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ । उहाँले भन्नुभयो, “शान्तिपूर्ण रूपमा उठाएका माग बेवास्ता भए हामी बाध्य भएर आन्दोलनमा जान्छौं।” व्यवसायीहरूले बजारको अस्तित्व जोगाउन र आफूहरूको रोजगारी सुरक्षित गर्न सम्बन्धित निकायले तत्काल हस्तक्षेप गर्नुपर्ने व्यवसायीको माग गरेका छन् ।
७ रोपनी क्षेत्रफल कृर्षी सामाग्री कम्पनीको नाममा रहेको छ भने बाँकी ३ रोपनी क्षेत्रफल भने पोखरा उपत्यका नगर विकास समितिको माताहातमा रहेको छ । हाल पोखरा उपत्यका नगर विकास समितिको जग्गामा पहारी कन्ट्रक्सन एण्ड विलडर्सले पहिलो नम्बरमा टेण्डर पारेको हो । पोखरा उपत्यका नगर विकास समिति अन्र्तगतको जग्गामा करिब ८० वटा व्यवसायीक स्टलहरु रहेका छन् ।



