
दीननाथ बराल,
पोखरा १३, वैशाख,
गण्डकी प्रदेश निर्माण व्यवसायी संघले इन्धन तथा निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्र संकटमा परेको भन्दै योजनाहरुको म्याद थप तथा मूल्य समायोजन गर्न माग गरेको छ । पछिल्लो समय डिजेल, पेट्रोल लगायत इन्धनमा भएको लगातार मूल्यवृद्धिले निर्माण उद्योग लगभग ठप्प हुने अवस्थामा पुगेको जनाउदै संघले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वाधार निर्माण क्षेत्र संकटमा परेको भन्दै योजनाहरुको म्याद थप तथा मूल्य समायोजन गर्न माग गरेको हो ।
इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी जस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्नुका साथै बजारमा अभाव समेत सिर्जना हुँदा निर्माण कार्य प्रभावित बनेको संघ गण्डकीका अध्यक्ष टंकराज बरालले बताउनु भयो । संघले राष्ट्र बैंकको मूल्य सूचकाङ्कका आधारमा हुने मूल्य समायोजन प्रणाली वर्तमान बजार अवस्थासँग मेल नखाने भन्दै यसलाई परिमार्जन गर्न समेत माग गरेको छ । बजारमा निर्माण सामग्रीको मूल्य उच्चदरमा बढ्दा पनि सूचकाङ्कमा घटेको देखिने प्रवृत्तिले व्यवसायी थप समस्यामा परेको अध्यक्ष बरालले गुनासो गर्नुभयो ।
यस्तै, इन्धन तथा सामग्रीको मूल्यवृद्धिका कारण राष्ट्रिय गौरवका आयोजना सहित देशभर सञ्चालनमा रहेका साना–ठूला परियोजनाहरु निर्धारित समयमा सम्पन्न हुने सम्भावना न्यून बन्दै गएको संघले जनाएको छ । संघका अध्यक्ष बरालका अनुसार गण्डकी प्रदेशमा साना, मझौला तथा ठूला आयोजनाहरु करिब ६ सय वटा सञ्चालनमा रहेका छन् । जसमा मूल्य समायोजन नभए अधिकांश योजना प्रभावित हुने जोखिम रहेको उहाँले दाबी गर्नुभयो । हालको लागत संरचनामा पुरानै दररेटमा निर्माण कार्य अगाडि बढाउन असम्भव भएको संघका महासचिव कृष्ण लम्सालले दाबी गर्नुभयो । यसैबीच, संघले सबै निर्माण आयोजनाहरुमा मूल्यवृद्धि अनुसार मूल्य समायोजनको व्यवस्था गर्न, बैंक ग्यारेन्टी र इन्स्योरेन्सको सहजीकरणसहित आयोजनाको म्याद थप गर्न तथा व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन सरकार समक्ष आग्रह गरेको छ ।



