गण्डकी प्रदेशमा ९ महिनामा ३४९ सवारी दु्र्घटना, १८२ जनाकोे मृत्यु ६३ हजार सवारी कार्वाही, ४ करोड ७६ लाख राजश्व संकलन

-


     पोखरा क्लिक     
     वैशाख १२ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ११ वैशाख,

गण्डकी प्रदेशमा चालु आर्थिक बर्षको चैत मसान्तरसम्म ९ महिनाको अवधिमा सवारी दु्र्घटनामा परी १ सय ८२ जनाकोे मृत्यु भएको छ । प्रदेशको ट्राफिक नियमन गर्ने नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पोखराले दिएको तथ्याङक अनुसार चालु बर्षको ९ महिनाको अवधिमा कास्की सहित प्रदेशका ११ जिल्लामा ३ सय ४९ वटा सवारी दुर्घटना हुँदा सवारी दुर्घटनाबाट १ सय ३६ जना पुरुष सहित १ सय ८२ जनाको सवारी साधन दुर्घटनामा परी मृत्यु भएको कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०८१÷०८२ को साउन देखि चैत मसान्तरसम्म ९ महिनाको अवधिमा भने प्रदेशमा ३ सय ८३ वटा सवारी दुर्घटना हुँदा १ सय ७१ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पोखराका प्रहरी निरिक्षक एवं नि.सूचना अधिकारी थानेश्वर चपाईले बताउनु भयो । अघिल्लो बर्षको तुलनामा चालु बर्षको ९ महिनामा सवारी दुर्घटना कम भए पनि मृत्यु सङख्या भने ११ जनाले बढी भएको छ । यस चालु आर्थिक बर्षको चैत मसान्तरसम्म ९ महिनाको अवधिमा गण्डकी प्रदेशमा १ लाख ७ हजार ४ सय ७५ वटा सवारी साधन तथा चालक माथि कार्वाही हुँदा ९ करोड ४६ लाख ६९ हजार राजश्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।

त्यसै गरी आर्थिक बर्ष २०८१÷०८२ को साउन देखि चैत मसान्तरसम्म १ लाख ७५ हजार ७ सय १० वटा सवारी साधन तथा सवारी चालक माथि कार्वाही हुँदा १४ करोड २६ लाख ३८ हजार १ रुपैया राजश्व संकलन भएको उहाँले जनाउनु भयो । जिल्लागत हेर्दा सवै भन्दा धेरै कास्कीमा सवारी साधन माथि कार्वाही भएको छ भने राजश्व पनि कास्कीमा बढी संकलन भएको छ । कास्कीमा अघिल्लो बर्षको ९ महिनामा ६३ हजार १ सय ५३ सवारी साधन माथि कार्वाही हँुदा ४ करोड ७६ लाख २६ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ । सबै भन्दा कम मनाङमा अघिल्लो बर्षको ९ महिनामा ५ सय ७१ सवारी साधन माथि कार्वाही हुदा ६ लाख १९ हजार ५ सय रुपैया राजश्व संकलन भएको थियो । चालु आर्थिक बर्षको ९ महिनामा कास्कीमा ३२ हजार ८ सय २० वटा सवारी साधन माथि कर्वाही हुदा २ करोड ७८ लाख १३ हजार ५ सय रुपैया राजश्व संकलन गर्न सफल भएको छ । मनाङमा ९ महिनाको तथ्याङक हेर्दा २ लसय २१ वटा सवारी साधन माथि कार्वाही हुँदा २ लाख ४७ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।