
पोखरा, ३० चैत,
पोखरामा राष्ट्रिय स्तरको ‘पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप’ सम्पन्न भएको छ। कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ३७ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए।
काठमाडौं, बिर्तामोड, चितवन, बुटवल, इटहरी, धनगढी (कैलाली) र पोखरा लगायतका स्थानबाट आएका प्रतियोगीहरूले फ्लेयर (बोतल घुमाउने कला) तथा ककटेलरमकटेल बनाउने सीप प्रस्तुत गरेका थिए। प्रतियोगितामा इटहरीका राई बादशाह किरात प्रथम, बुटवलका रोशन चौधरी दोश्रो भए ।विजेताले ४० हजार रुपैयाँ नगद, बार टुल्स सेट, ट्रफी, गिफ्ट ह्याम्पर, सम्मान पत्र तथा प्याराग्लाइडिङसहित आकर्षक पुरस्कार प्राप्त गरे। त्यसैगरी, दोस्रो हुनेले २५ हजार रुपैयाँ नगद, बार सामग्री र गिफ्ट ह्याम्पर प्राप्त गरे। धनगढीका नवीन धामी तेस्रो हुँदै १५ हजार रुपैयाँ र बुटवलका रेशम गुरुङ चौथो हुँदै ७ हजार रुपैयाँसहित बार सामग्रीबाट पुरस्कृत भए। उत्कृष्ट ककटेल विधातर्फ राई बादशाह किरात (इटहरी) र उत्कृष्ट फ्लेयर (बोतल घुमाउने) तर्फ विनोद गुरुङ (काठमाडौं) ले जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको निर्णायक मण्डलमा काठमाडौंका युवराज पुन, ऐला विशेषज्ञ सुरज ममर्जन, स्टेप–अप हस्पिटालिटी बुटवलका बिष्णु सार तथा सिटिइभिटीका शैलेन्द्र सादी रहेका थिए । कान्तिपुर होटल ट्रेनिङ तथा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष विजय पौडेलले यस्ता प्रतियोगिताले बारटेन्डिङ पेशामा आवद्ध व्यक्तिहरूलाई सम्मान, प्रेरणा र सीपको कदर गराउने बताए। साथै नयाँ पुस्तालाई सीपमूलक शिक्षातर्फ आकर्षित गर्ने मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे। २०६० सालमा स्थापना भएको संस्थाले हालसम्म करिब २८ हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको जनाएको छ। संयोजक निश्चल देवकोटाका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लागेको अनुमान गरिएको छ। समग्रमा, ‘फ्लेयर मास्टर च्याम्पियनसिप’ केवल प्रतिस्पर्धा मात्र नभई सीप, करियर र अन्तर्राष्ट्रिय अवसरलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको आयोजकको दाबी छ ।



