पोखरामा खुकुरी प्रहारबाट ४२ वर्षीया महिलाको हत्या

-


     पोखरा क्लिक     
     चैत्र २६ गते २०८२ मा प्रकाशित


कास्की,

पोखराको सभागृहचोकमा खुकुरी प्रहारबाट ४२ वर्षीया महिलाको हत्या भएको छ । पोखरा–५ मालेपाटन निवासी सिर्जना पौडेल केसीको बुधबार साँझ करिब ७ बजे घर फर्किंदै गर्दा हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी केसी सभागृहचोकबाट सृजनाचोकतर्फ जाँदै गर्दा शिवालयचोकतर्फ जाने गल्लीको मोडमा पुगेपछि अज्ञात व्यक्तिले टाउकोमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जीएमसी) पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मालेपाटनमा स्थायी घर भए पनि उनी हाल खपौंदीस्थित आफ्नै अर्को घरमा बस्दै आएकी थिइन्। घटनापछि आक्रमणकारी फरार रहेका छन्। प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै सिसिटिभी फुटेजका आधारमा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ। प्रहरीले मृतकका परिवारका सदस्य तथा नजिकका व्यक्तिहरूसँग सोधपुछसमेत गरिरहेको छ।

मृतक केसी एकल महिला हुन्। उनका श्रीमान् कृष्ण केसीको करिब एक वर्षअघि विष सेवनबाट घरमै मृत्यु भएको थियो। उनका एक चार वर्षीया छोरी छिन्। साथै, श्रीमान अघिल्लो वैवाहिक सम्बन्धबाट एक छोरा र एक छोरी रहेका छन्, जो हाल हजुरबुबा–हजुरआमासँग मालेपाटनमा बस्दै आएका छन्। प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।