अन्नपूर्ण केबलकारको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, आईपीओ प्रक्रिया अगाडि बढ्ने

-


     पोखरा क्लिक     
     चैत्र २४ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराको अन्नपूर्ण केवलकार लिमिटेडको तेस्रो वार्षिक साधारण सभा हालै पोखरामा सम्पन्न भएको छ। साधारण सभाको सुरुवातमा कम्पनीका सञ्चालक आजाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० मा जाने तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले सो प्रक्रिया अघि बढाउन आवश्यक कागजातहरू मिलाउने क्रममा यो साधारण सभा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

सभामा कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले केबलकारको हालसम्मको कार्यप्रगति तथा उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँले परियोजनाको विकास, सेवा विस्तार तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। कार्यक्रमका क्रममा सञ्चालक समितिका अध्यक्ष कालु गुरुङद्वारा प्रस्तुत वासलात तथा नाफा–नोक्सान विवरणमाथि शेयरधनीहरूबाट उठेका जिज्ञासाहरूको समाधान गरिएको थियो। आवश्यक छलफलपछि उक्त वित्तीय प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको कम्पनीले जनाएको छ।

अन्त्यमा अध्यक्ष गुरुले सम्पूर्ण शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन गर्नुभयो। पोखराको लेकसाइडस्थित सेती बगरबाट सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले करिब ९ मिनेटमै पर्यटकीय गन्तव्य सराङकोट पुर्‍याउने सुविधा प्रदान गर्दै आएको छ। यात्राका क्रममा हरियाली वन, फेवाताल, पोखरा उपत्यका, नयाँ अन्तर्राष्ट्रिय विमानस्थल तथा हर्पन खोलाको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ।

माथिल्लो स्टेशनबाट छोटो पैदल यात्रापछि सराङकोट धाम पुग्न सकिन्छ, जहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ। सूर्योदय र सूर्यास्तका लागि सराङकोट विशेष आकर्षणको केन्द्र मानिन्छ। केबलकार सेवाका लागि लेकसाइडबाट निःशुल्क सटल बस सुविधा उपलब्ध रहेको छ। दुईतर्फी टिकट दर ७०० रुपैयाँ र एकतर्फी टिकट दर ४०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।