
पोखरा,
शिक्षा र रोजगारीबीचको दूरी घटाउने लक्ष्यसहित पोखरास्थित कालिका बहुमुखी क्याम्पस र के.सी.ग्रुपबीच महत्वपूर्ण सहकार्य सम्झौता भएको छ। यस समझदारीसँगै क्याम्पसबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले रोजगारीका अवसर प्राप्त गर्ने मात्र होइन, अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिपको समेत व्यवस्था गरिने भएको छ।
क्याम्पस परिसरमा आयोजित एक औपचारिक समारोहका बीच क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतम र के.सी.ग्रुपका कार्यकारी निर्देशक किरण के.सी.ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि बोल्दै क्याम्पस प्रमुख गौतमले यो सहकार्यलाई क्याम्पसको शैक्षिक यात्रामा नयाँ अध्यायको रूपमा व्याख्या गरे। उनले क्याम्पसको स्थापना, विकासक्रम र उपलब्धिहरू प्रस्तुत गर्दै निजी क्षेत्रसँगको सहकार्यले विद्यार्थीहरूलाई व्यवहारिक तथा सीपमूलक शिक्षातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे। साथै, के।सी। समूहले विगतदेखि क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा पुर्याउँदै आएको योगदानप्रति आभार व्यक्त गरे।
उनका अनुसार, ‘सूर्य–प्रेम ट्रस्ट’मार्फत क्याम्पस परिसरभित्र करिब साढे तीन करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘किर्ति भवन’ जस्ता परियोजनाले शिक्षा र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाएको छ। २०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पस आज देशकै अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित भइसकेको छ। सीमित स्रोतसाधन र ८९ विद्यार्थीबाट सुरु भएको शैक्षिक यात्रा अहिले हजारौं विद्यार्थी, आधुनिक पुस्तकालय, ई–लाइब्रेरी तथा अनुसन्धानमूलक गतिविधिसहित विस्तारित भएको छ। क्याम्पसले कुल विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने अनुसन्धान प्रवर्द्धनका लागि आर्थिक अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि किरण के.सी.ले सीपमूलक शिक्षा र उद्यमशीलताको महत्वमा जोड दिँदै शिक्षा प्रणालीलाई समयअनुकूल बनाउनु आवश्यक रहेको बताए। उनले आफ्नो पारिवारिक व्यवसायिक यात्राको स्मरण गर्दै के.सी.समूहको सुरुवात करिब ७५ वर्षअघि के।सी। कन्स्ट्रक्सन कम्पनीबाट भएको र अहिले २३ भन्दा बढी कम्पनीमार्फत विविध क्षेत्रमा विस्तार भएको जानकारी दिए। उनका अनुसार, समूहले औद्योगिक उत्पादनदेखि जलविद्युत्, पूर्वाधार विकास र आवास क्षेत्रसम्म उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। हाल समूहले ८ वटा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ भने थप परियोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन्। करिब ११० मेगावाट विद्युत् उत्पादन गर्दै आएको समूहले १२ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको उनले बताए। “निरन्तर सिकाइ नै सफलताको आधार हो,” उनले भने, “विद्यार्थीहरूले व्यवहारिक सीप र नयाँ प्रविधि, विशेषगरी एआईसँग सम्बन्धित ज्ञान हासिल गर्नुपर्छ।”
कार्यक्रममा के।सी। समूहका मानव स्रोत प्रमुख बुद्धिसागर भण्डारीले सहकार्यको औचित्यबारे प्रकाश पार्दै यसले विद्यार्थीहरूलाई सीप, इन्टर्नशिप र रोजगारीका अवसर विस्तार गर्ने विश्वास व्यक्त गरे। क्याम्पसका सहायक प्रमुख शालिकराम तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्दै यस्तो सहकार्यले क्याम्पसको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख युवराज गुरुङले गरेका थिए। यो समझदारीसँगै शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।



