
कास्की,
पोखरामा सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया सहित सूचना अधिकारी बैठक सम्पन्न भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकमा जिल्लास्थित सरकारी तथा सार्वजनिक निकायका सूचना अधिकारीहरू, सञ्चारकर्मी तथा सूचना अभियन्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरू चित्राङगत बराल र शिव लम्साल ले सूचनाको हक सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउँदै प्रत्येक कार्यालयमा सूचना अधिकारी तोकी नागरिकलाई सूचना उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी शर्माले प्रचलित कानूनको अधीनमा रही माग भएका सूचनाहरू छिटो, छरितो र सहज रूपमा उपलब्ध गराउन निर्देशन दिनुभयो। साथै सूचना व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन संरक्षण, भण्डारण, वर्गीकरण, प्रकाशन तथा प्रसारणका कार्यहरूलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। बैठकले अघिल्लो निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै विपद् व्यवस्थापन, आगलागी नियन्त्रण, वन डढेलो रोकथाम तथा मनसुनपूर्व तयारीका विषयमा विभिन्न निर्णयहरू गरेको छ। जोखिमयुक्त क्षेत्रहरूको पहिचान, पूर्वतयारी सुदृढीकरण, सम्बन्धित निकायबीच समन्वय र सहकार्य बढाउने लगायतका विषयमा समेत सहमति भएको छ।
त्यसैगरी, सबै स्थानीय तहलाई विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन निर्देशन दिइएको छ। विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार सामग्री तयारी, तथा सरोकारवाला निकायबीच समन्वय मजबुत बनाउने निर्णय पनि बैठकले गरेको छ। बैठकले सूचनाको हकको प्रभावकारी कार्यान्वयनसँगै विपद् व्यवस्थापनलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण निष्कर्ष निकालेको छ।




