
पोखरा मा फरक–फरक स्थानबाट अचेत अवस्थामा उद्धार गरिएका दुई जनाको उपचारका क्रममा मृत्यु भए पनि हालसम्म शव पहिचान हुन सकेको छैन्। एक पुरुष र एक महिलाको प्रहरीले उद्धार गरी अस्पतालमा उपचार गर्न पुर्याए पनि केही दिन मृत्यु भएसंगै उनीहरुको शव पहिचान हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।

यी दुई घटना गत माघ र चैत महिनामा भएका हुन्। पहिचान नखुलेपछि प्रहरीले उनीहरूको हुलिया सार्वजनिक गर्दै आफन्त वा चिनजान हुने व्यक्तिलाई जानकारी दिन आग्रह गरेको हो । प्रहरीका अनुसार, माघ ३ गते शनिबार पोखरा महानगरपालिका–१३ दुईकुला क्षेत्रमा एक महिलालाई पानीमा डुबेको अवस्थामा अचेत फेला पारिएको थियो। करिब ३५ वर्ष उमेरकी जस्तो देखिने ती महिलालाई तत्काल उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भयो। हालसम्म उनको पहिचान खुल्न सकेको छैन।
यसैगरी, चैत ३ गते पोखरा रंगशाला को गेट नजिकै एक पुरुष अचेत अवस्थामा भेटिएका थिए। अन्दाजी ५० देखि ५५ वर्ष उमेरका ती पुरुषलाई पनि प्रहरीले उद्धार गरी सोही प्रतिष्ठानमा भर्ना गरेको थियो। उपचारका क्रममा गत आइतबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यी व्यक्तिहरूबारे कुनै जानकारी छ भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।





