खाडी क्षेत्रको परिस्थितिका कारण दुबईबाट ७६५ नेपालीलाई स्वदेश फर्काउन हिमालय एअरलाइन्सका ५ विशेष उडान गर्ने

-


     पोखरा क्लिक     
     फागुन २९ गते २०८२ मा प्रकाशित


पोखरा,

खाडी क्षेत्रमा विकसित परिस्थितिका कारण प्रभावित भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन हिमालय एअरलाइन्सले दुबईबाट हालसम्म पाँच विशेष उडान सञ्चालन गरेको छ । एअरलाइन्सका अनुसार ८ मार्च २०२६ देखि काठमाडौँ–दुबई रुटमा विशेष उडान सञ्चालन गर्दै आएको छ।

नियमित उडानमा आएको अवरोधका कारण यात्रा गर्न नसकेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने उद्देश्यले यी उडान सञ्चालन गरिएको हो। हिमालय एअरलाइन्सले नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै प्रभावित नेपाली नागरिकहरूको सुरक्षित र समयमै स्वदेश फिर्ती सुनिश्चित गर्न काम गरिरहेको जनाएको छ । कम्पनीका अनुसार ८ मार्चदेखि हालसम्म सञ्चालन भएका पाँच विशेष उडानमार्फत ७६५ नेपाली नागरिकलाई स्वदेश फर्काइसकिएको छ। यस रुटमा अहिले दैनिक एक नियमित उडानसमेत सञ्चालन हुँदै आएको छ।

एअरलाइन्सले विमानस्थल प्राधिकरण, कूटनीतिक नियोग तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै यात्रुहरूको सुरक्षित यात्रा व्यवस्थापन गरिरहेको जनाएको छ । हिमालय एअरलाइन्सले विशेष उडान सञ्चालनमा सहयोग पुर्‍याउने नेपाल सरकार, उड्डयन क्षेत्रका निकाय तथा साझेदार संस्थाप्रति आभार पनि व्यक्त गरेको छ। साथै थप जानकारीका लागि एअरलाइन्सको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत अपडेट लिन सकिने जनाएको छ।