
पोखरा,
विश्व बजारमा देखिएको ग्याँस अभावका कारण भोलि (शुक्रबार) देखि पोखरा सहित देशभर आधा भरिएको एलपी ग्याँस सिलिण्डर बजारमा पठाइने भएको छ । गृह लक्ष्मी ग्याँस उद्योगका सञ्चालक धर्मराज वर्तौलाका अनुसार नेपाल आयल निगमको निर्देशनअनुसार ग्याँसको अभाव व्यवस्थापन गर्न अस्थायी रूपमा आधा सिलिण्डर मात्रै वितरण गरिने व्यवस्था लागू गर्न लागिएको हो।

उहाँले पोखराक्लिकसँग कुरा गर्दै बिहीबारसम्म बिल काटेर वितरणका लागि पठाइएका सिलिण्डरहरू बाहेक शुक्रबारदेखि भने बजारमा आधा भरिएको सिलिण्डर मात्रै पठाइने जानकारी दिनुभयो । विश्व बजारमा देखिएको आपूर्ति समस्या र ग्याँसको माग बढेकाले यस्तो व्यवस्था लागू गर्नुपरेको उहाँको भनाइ छ।
यस अवस्थालाई मध्यनजर गर्दै वर्तौलाले सकेसम्म बिहान र दिउँसोको समयमा विद्युत प्रयोग गरेर खाना तथा खाजा पकाउने बानीको विकास गर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। “विद्युतको प्रयोग बढाउन सके ग्याँसको दबाब केही कम हुन्छ,” उहाँले भन्नुभयो। ग्याँस आपूर्तिमा देखिएको समस्या समाधान नहुँदासम्म यो व्यवस्था केही समय कायम रहने सम्भावना रहेको उद्योग स्रोतले जनाएको छ। इरान र अमेरीकाको युद्धका कारण हाल पुर्वी देशहरुमा ग्याँसको सहज आपूर्ति नभएको नेपाल आयल निगमले जनाएको छ । अहिलेको अबस्थामा कृतिम अभाव अनावश्यक घरमा जोहो नगर्न समेत निगमनले उपभोक्तामा अनुरोध गरेको छ ।



