कावासोतीमा विहिबारदेखि सुरु हुने राष्ट्रिय भलिवलमा गण्डकी सहित १० टिमको सहभागिता हुने

-


     पोखरा क्लिक     
     फागुन २७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २७ फागुन

नवलपुरको कावासोती–२ स्थित कुमारवर्ती बहुमुखी क्याम्पसको भलिवल कोर्टमा भोलि (विहिबार) देखि सुरु हुने दोस्रो आमन्त्रित ‘जि.एम. कप’ राष्ट्रिय भलिवल प्रतियोगितामा गण्डकी प्रदेश सहित १० टिमको सहभागिता हुने भएको छ । राष्ट्रिय खेल भलिवलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा तीन विभागीय टोली र सातै प्रदेशका गरी १० टिमको सहभागिता रहने भएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो ।

प्रतियोगितामा नेपाल पुलिस, एपीएफ र नेपाल आर्मीका विभागीय टोलीसँगै गण्डकी, कोशी, मधेश, बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता फागुन २८ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका संयोजक धिरेनप्रताप गाहा मगरका अनुसार विजेताले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै सान्त्वना पुरस्कार स्वरूप ५० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा अन्य पाँच विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा जि.एम. सोसाइटी कावासोती र जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा हुने प्रतियोगिताले राष्ट्रिय भलिवलको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले प्रदेश सरकारले खेलकुदको विकास र प्रवद्र्धनका लागि प्रतियोगितालाई सहयोग गरेको जानकारी दिनुभयो। यसपाली ३ हजार सिट क्षमताको अस्थायी प्यारापिट समेत निर्माण गरिएको छ ।