पोखरामा १०४ वर्षीय वृद्धद्वाराद्धारा मतदान, किरियापुत्रीले पनि गरे मतदान

-


     पोखरा क्लिक     
     फागुन २१ गते २०८२ मा प्रकाशित


लेखनाथ, २१ फाल्गुण,

प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि विहिबार कास्कीमा सम्पन्न भएको निर्वाचनमा पोखरामा ज्येष्ठ नागरिकदेखि किरियामा बसेका नागरिकसम्मले समेत उत्साहपूर्वक मतदान गरेका छन् । पोखरा महानगरपालिका–३२ बडहरेस्थित चन्द्रज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा १०४ वर्षीय काशीनाथ पण्डित र उनकी धर्मपत्नी मनधरा पण्डितले मतदान गरेकी हुन ।

वृद्ध उमेरमा पनि मतदान गर्न पुगेका ज्येष्ठ नागरिक र शोकको अवस्थामा रहेका किरियापुत्रीले समेत मतदानमा सहभागी भएर लोकतान्त्रिक अभ्यासप्रति आफ्नो जिम्मेवारी निर्वाह गरेको स्थानियले बताए । स्थानीयवासीका अनुसार पण्डित दम्पती बिहानै घरबाट निस्केर मतदान केन्द्रमा पुगेका थिए । मतदान केन्द्रमा उपस्थित मतदाताहरूले उनीहरूलाई सम्मानका साथ स्वागत गरेका थिए।

काशीनाथ पण्डितलाई केही महिना अघि पोखरा महानगरपालिकाले नगरपिता (ज्येष्ठ सदस्य) का रूपमा सम्मान समेत गरेको थियो। उनको जन्म विक्रम संवत् १९७८ साल वैशाख १ गते भएको बताइन्छ। पण्डितका दुई छोरा–बुहारी, सात छोरी तथा करिब दुई दर्जन नाति–नातिना रहेका छन्। परिवारका सदस्यहरूका अनुसार यति धेरै उमेर पार गरिसक्दा पनि उनी शारीरिक रूपमा स्वस्थ र फुर्तिला छन्। उनका जेठा छोरा हिरामणि पण्डितका अनुसार बुबाले अझै पनि घरका सामान्य कामहरू आफैं गर्ने गर्नुहुन्छ। खाली समय हुँदा घर वरिपरि हिँडडुल गर्ने बानीले उहाँलाई स्वस्थ राख्न सहयोग पुगेको परिवारको भनाइ छ ।

यसैबीच, पोखरा महानगरपालिका–३२ स्थित ब्रह्मरूप माध्यमिक विद्यालयको मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन ्। सो वडाको राजाको चौतारा निवासी ९३ वर्षीय स्वर्गीय गेष्मलाल पौडेलका छोरा केशवराज पौडेल र टिकराम पौडेलले किरिया बसेकै अवस्थामा मतदान गरेका हुन्। बाबुको निधनपछि धार्मिक परम्पराअनुसार किरिया बसेका उनीहरूले पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदान केन्द्र पुगेर मत दिएका हुन्। त्यसैगरी सोही स्थान निवासी ५८ वर्षीया स्वर्गीय वसुन्धरा तिमल्सेनाका श्रीमान् रामप्रसाद तिमल्सेनाले पनि किरियामा रहेकै अवस्थामा मतदानमा भाग लिनुभएको बताइएको छ।किरियाको अवस्थामा रहेका नागरिकले समेत मतदानमा सहभागी हुनु लोकतान्त्रिक प्रक्रियाप्रति नागरिकको जिम्मेवारी र सचेतनाको उदाहरण भएको स्थानीयवासीले बताएका छन्।

निर्वाचनका क्रममा विभिन्न मतदान केन्द्रहरूमा ज्येष्ठ नागरिक, महिला, युवा तथा अपाङ्गता भएका व्यक्तिहरूको पनि उल्लेखनीय सहभागिता देखिएको थिया े। कतिपय स्थानमा स्थानीय स्वयंसेवकहरूले ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पु¥याउन सहयोग गरेका थिए । यस निर्वाचनमा नागरिकहरूको उत्साहजनक सहभागिताले लोकतन्त्रप्रतिको विश्वास अझ मजबुत भएको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन ्। मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको सम्बन्धित निकायले जनाएको छ ।