
पोखरा,
नेपाली महिला फुटबल टोलीकी कप्तान तथा चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) गम्भीर घुँडाको चोटका कारण उपचार खर्च जुटाउन कठिनाइमा परेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी भण्डारीले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै आम समर्थक माझ सहयोगको अपिल गरेकी हुन्।

भण्डारीका अनुसार यसअघि गरिएको एसीएल शल्यक्रियामा राखिएको ग्राफ्ट तथा एमसिएल दुबैमा गम्भीर समस्या देखिएको छ। चिकित्सकले पुनः जटिल शल्यक्रिया र करिब ७–८ महिनाको रिह्याब आवश्यक पर्ने बताएका छन्। उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। यसअघि उनको उपचारमा अखिल नेपाल फुटबल संघ ९एन्फा० नेतृत्वको पहलमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो। तर यसपटक भने अपेक्षित सहयोग नपाएको उनले बताएकी छन्। एन्फाबाट प्रशासनिक सहयोग सम्भव नभएको जानकारी दिइएको र नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव आएको उनले उल्लेख गरेकी छन्। यसका कारण पहिले सुरु गरिएको प्रक्रिया रोकिएको र शल्यक्रियाको मिति पुनः तय गर्न ढिलाइ भएको बताइएको छ।
हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डमै उपचार गराउन तयार रहेको जनाए पनि भण्डारीले यसअघि उच्चस्तरीय उपचार गराएको कतारस्थित ब्कउभतबच अस्पतालमै पुनः शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि उक्त रकम सम्पूर्ण शल्यक्रिया र पुनर्स्थापनाका लागि अपुग हुने देखिएको छ। राष्ट्रिय टोलीकी कप्तान भण्डारीले इजरायल, फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दासमेत सधैं नेपालकै पहिचान बोकेको बताउँदै देशका लागि शतप्रतिशत समर्पण गरेको उल्लेख गरेकी छन्। “थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु,” उनले भावुक सन्देश दिएकी छन्।अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी ‘साम्बा’ ले डेढ महिनाअघि खेलका क्रममा घुँडाको गम्भीर चोट बोकेकी थिइन् ।
ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको बताइन्छ ।आर्थिक अभावका कारण उपचारमा ढिलाइ हुन थालेपछि उनले नेपाल तथा विदेशमा रहेका समर्थकलाई आर्थिक सहयोग गर्न आग्रह गरेकी छन्। नेपालमा रहेका सहयोगीले बैंक तथा क्यूआरमार्फत र विदेशमा रहेका समर्थकले अनलाइन लिंकमार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । नेपाली महिला फुटबलकी अग्रणी खेलाडी नै उपचार खर्च अभावमा संघर्षरत हुनुले खेलकुद क्षेत्रको संरचनागत चुनौती उजागर भएको सरोकारवालाहरू बताउँछन्। समर्थकहरूले भने सामाजिक सञ्जालमार्फत भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग जुटाउने अभियान सुरु गरेका छन्।





