आहा रारा पोखरा गोल्ड कपमा आयोजक सहारा क्लबले १२ वर्षमा खोला पनि फर्किन्छ भनेझैँ पुनः १२ वर्षमा अर्को उपाधि जित्न सफल (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन ९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ९ फागुन,

१२ वर्षको लामो प्रतिक्षापछि आयोजक सहारा क्लबले खोला फर्किएझैँ इतिहास दोहोर्‍याउँदै २५औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा सहाराले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि जित्दै आफ्नै मैदानमा गौरवमय पुनरागमन गरेको हो ।

खेलको २५औँ मिनेटमा सहाराका मुकुन्द कुमार न्यूरेले टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै दबाबमा परेको जावलाखेलले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । खेलको ७३औँ मिनेटमा जय डेनियल वडारुले उत्कृष्ट गोल थप्दै सहाराको जित सुनिश्चित गरे । शुसिल लामाको लामो क्रस वललाई डेनियलले उत्कृष्ट हेड गर्दै जावलाका गोलरक्षक उनेस चौधरीलाई विट गरी वलले जालु चुमेको थियो । १२ वर्षअघि उपाधि जित्दा टोलीका म्यानेजर रहेका सुनिल राना मगर यसपटक प्रशिक्षकका रूपमा उपाधि जित्न सफल भए । उनले जावलाखेलका विदेशी खेलाडी निकोलसलाई नियन्त्रणमा लिन सफल भएकाले खेल सहज बनेको प्रतिक्रिया दिए । जावलाखेल यस अघि १४ बर्ष अघि फाइनलमा पुगेर मनाङसंग फाइनलमा २—०ले पराजित हुदै उपविजेता भएको थियो ।

जावलाखेल युथ क्लबका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले आफ्नो भरपर्दा विदेशी खेलाडी निकोलसलाई सहाराले कडा मार्किङमा राख्दा योजना अनुसार खेल्न नसकिएको बताए । पोस्ट चार्ज गर्ने अवसर कम पाउँदा पराजय भोग्नुपरेको उनको भनाइ थियो ।मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.को ‘रारा’ तयारी चाउचाउ ब्रान्डसँग आबद्ध प्रतियोगितामा विजेताले १४ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताले पोखराको खेल पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकालीले बताए ।प्रतियोगिताका उत्कृष्ट खेलाडी सहाराका मुकुन्द कुमार न्यूरे घोषित भए ।

उनलाई टेल्जी कम्पनीको इलेक्ट्रिक स्कुटर उपहार प्रदान गरियो । अनुशासित टिमको उपाधि उज्वेकिस्तानको आबा फुटबल क्लबलाई प्रदान गरिएको थियो ।सर्वाधिक गोलकर्ताको उपाधि प्लानिङ ब्वाइज युनाइटेडका पापा इबोउ केबे (३ गोल) ले हात पारे । उत्कृष्ट गोलरक्षक सहाराका टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डर जय डेनियल वडारु, उत्कृष्ट मिडफिल्डर जावलाखेलका बुबाकर सिसोको तथा उत्कृष्ट स्ट्राइकर जावलाखेलकै धर्बेन्द्र कुँवर घोषित भए । उत्कृष्ट प्रशिक्षकको उपाधि सहाराका सुनिल राना मगरले प्राप्त गर्दा उदीयमान खेलाडीको उपाधि पनि मुकुन्द कुमार न्यूरेले नै हात पारे । अन्य विधाका उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, हिमश्री फुड्स प्रा.लि.का कार्यकारी निर्देशक प्रकाश केसी, सहारा यूकेका अध्यक्ष सारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा हङकङका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा हङकङका अध्यक्ष सुरज गुरुङ (खम), निवर्तमान अध्यक्ष दीपक गुरुङ, तमु धि यूकेका उपाध्यक्ष कमल गुरुङ, सल्लाहकार ले.रि.कुसाङ गुरुङ, पूर्व अध्यक्ष नविन गुरुङ, कोने घोताने घोण्डे तमु समाज यूकेका कुमार गुरुङ, प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङ, योम मा इ मोटर्स प्रालिका संचालक संजिव सिल्पकार, समाजसेवी खेलकुदकर्मी खेमबहादुर गुरुङ, टिका बहादुर काकी, क्लबका अध्यक्ष केशव बहादुर थापा, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष याम्बी आस्था, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले पुरस्कार वितरण गरे ।

गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित १२ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए । फाइनल खेलमा भिआईपी तर्फ ५ सय र पूर्वपट्टि ३ सय रुपैयाँ टिकट दर तोकिएको महासचिव गंगाराज पौडेलले पोखराक्लिकलाई बताए । अन्य दिनको तुलनामा फाइनलमा दर्शक उपस्थिति उत्साहजनक रहेको पूर्व अध्यक्ष वीरभद्र आचार्यले बताए । १२ वर्षको अन्तरालपछि उपाधि पुनः घरमै भित्र्याउँदै सहाराले ‘खोला फर्किन्छ’ भन्ने उक्ति खेलमैदानमा सावित गरेको छ । सहाराले क्याराभान सहितको उक्त गोल्ड कपमा २०६९ मा थ्रि स्टारसंग र ७३ मा मनाङसंग फाइनलमा पुगेर उपविजेता भएको थियो । क्याराभान सहितको १३ औं आहा रारा पोखरा गोल्ड कपको १२ औं संस्करणमा सहाराले मनाङलाई १—० ले पराजित गरी उपाधि जितेको थियो । रजत जयन्तीको अवसरमा सहारा क्लवले खेलकुदको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै खेलकुदकर्मी समाजसेवी दिलिप राई, खेल पत्रकार प्रकाश तिमिल्सिना र बिक्रम थापालाई समेत सम्मान गरिएको थियो । मन्त्री थापाले उनीहरुलाई सम्मान गरेका हुन् ।