मनाङलाई सडेन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा (भिडियो सहित) विहिबार हुने सेमिफाइनलमा जावलाखेल बिरुद्ध उज्वेकिस्तानको आबा क्लव भिड्ने

-


     पोखरा क्लिक     
     फागुन ६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ६ फागुन,

६ पटक उपाधि सहित आहा रारा पोखरा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गरेको मनाङ मस्र्याङदी क्लवलाई सडेन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को फाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा सहाराले मनाङलाई टाईब्रेकरको सडेन डेथमा ७—६ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

सडेन डेथमा मनाङका सविन खड्काले प्रहार गरेको पेनाल्टी सुट सहाराका गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्दै सहारालाई फाइनलमा पुर्याउनु भएको हो । दोश्रो सडेन डेथमा सहाराका कप्तान शुसिल लामाले गोल गर्नु भएको थियो । पहिलो सडेन डेथमा सहाराका आसिस गुरुङले पेनाल्टी सुटमा गोल गर्नु भयो भने मनाङका गिदोन नोआ किरेमेहले गोल गर्नु भएको हो । ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगे पनि टाईब्रेकरमा पनि दुबै तर्फ ५—५ गोल भएसंगै निर्णायकको अन्तिम विकल्प सडेन डेथमा खेल पुगेको हो ।

आहा रारा पोखरा गोल्ड कपमा ६ पटक उपाधि सहित ६ पटक उपविजेता हुन सफल भएको मनाङले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा खेल लम्बिएसंगै सडेन डेथमा पुगेर पराजित हुनु परेको अनिल तामाङले बताउनु भयो । १२ बर्ष अघि अर्थात क्याराभान बाहेक १२ औं आहा रारा पोखरा गोल्ड कपको उपाधि जितेको सहाराले यस बर्ष १२ बर्ष पछि खोला फर्काउने गरी फाइनल खेल जित्ने रणनितिका साथ तयारी गरेको प्रशिक्षक सुनिल राना मगरले बताउनु भयो । आजको खेलमा सहाराका तै डिनियल बदारु म्यान अफ दी म्याच घोषित हुदै १० हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

बुधबारको खेलको शुभारम्भ हिमश्री फुड्स प्रालिका निर्देशन युवा व्यवसायी किरण केसीले रेफ्रिलाई वल हस्तान्तरण गरी गर्नु भएको हो । यसैबिच, भोलि (विहिबार) दोश्रो सेमिफाइनल खेल हुने भएको छ । समुह बीबाट उज्वेकिस्तानको आबा फुटवल क्लव बिरुद्ध जावलाखेल युथ क्लव बिच विहिबार दिउसो ३ः०० बजे पछि सेमिफाइनल खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको विजेताले १४ लाख १ हजार उपविजेताले भने ७ लाख १ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले पोखराक्लिकलाई बताउनु भयो । गत माघ २७ देखि सुरु भएको प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको महासचिव गंगाराज पौडेलले बताउनु भयो ।