
दीननाथ बराल,
पोखरा, २ फागुन,
आहा रारा पोखरा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गरेको नेपाल पुलिस फुटवल क्लवलाई सडेन डेथको सिकार बनाउदनै आयोजक सहारा क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रबेश गरेको छ ।

पोखरा रंगशालाको फुटबल मैदानमा आज (शनिबार) भएको पहिलो क्वाटरफाइनल खेलमा सहाराले आहा रारा पोखरा गोल्ड कपमा ६ पटकको विजेता पुलिसलाई सडेन डेथमा (६—५ को टाईब्रेकरको सडेन डेथमा) पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सहारा र पुलिस बिचको खेल निर्धारित ९० मिनेटको समयमा दुबै तर्फ एक÷एक, थपिएको अतिरिक्त समय (३० मिनेट) मा दुबै तर्फ गोल हुन नसके पछि टाईब्रेकरमा पनि दुबै तर्फ ४÷४ गोलले खेल बराबरीमा पुगेपछि पहिलो सडेन डेथमा पनि दुबै तर्फ एक÷एक गोल भई दोश्रो सडेन डेथमा सहाराले जित हासिल गरेको हो । सहारा क्लवले एक पटक मात्र उपाधि जितेको छ ।
पुलिसका धिरेन्द्र शाहले प्रहार गरेको सडेन डेथको पेनाल्टी सुट सहाराका गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्नु भयो । सडेन डेथमा सहाराका टायडेनियल बदरुले गोल गर्नु भयो । खेलको ४९ औं मिनेटमा पुलिसका कप्तान राम वाजीले एक गोल गर्नु भयो भने सहाराका टायडेनियल बदरुले खेलको ६१ औं मिनेटमा एक गोल गरी खेल बराबरमा पुर्याउनु भयो ।
पहिलो सडेन डेथमा प्रहरीका जोन विष्ट र सहाराका प्रशन्न श्रेष्ठले पेनाल्टी सुटमा गोल गर्नु भएको थियो । टाईब्रेकरमा सहाराका तर्फबाट विक्की चाम्लिङ राई, भगत चौधरी, सिसस थापा, विनय तामाङको पेनाल्टी सुट गोलमा परिणत भएको थियो । त्यसैगरी, पुलिसका लागि नीरज खड्का, दशरथ गिरी, वैकल्पिक गोलकीपर अमीत टमाटा र सञ्जीव लामाले गोल गरेका थिए । पुलिसका राम वाजीले प्रहार गरेको पेनाल्टी सुट उत्कृष्ट बचाउ गर्नु भएको सहाराका गोलरक्षक टिकेन्द्र थापाले प्रहार गरेको पेनाल्टी सुट पोष्ट नजिकैबाट बाहिरिएको थियो । आजको खेलमा म्यान अफ दी म्याच सहाराका गोलरक्षक टिकेन्द्र थापा घोषित हुनु भयो । उहाँलाई गोर्खा मिडियाका संचालक तथा फोटोपत्रकार मिलन तमुले ट्रफी समेत प्रदान गर्नुभयो । शनिबार अन्य दिनको तुलनामा केही उत्साहजनक दर्शकको सहभागिता रहेको थियो ।
सोमबार हुने मनाङ मस्र्याङदी क्लव र थन्डरवोल्ट नर्थ यूनाइटेड बिचको तेश्रो क्वाटरफाइनलको विजेता टिमसंग सहारा क्लव सेमिफाइनलमा भिड्ने भएको छ । सहाराका प्रशिक्षक सुनिल रानाले आफुले ३ बर्षदेखि उक्त टिम हेर्दै आए पनि दुई बर्षसम्म प्रहरी आफुहरुको बादक रहेको अबस्थामा यस बर्ष जित निकाल्नु ठुलो उपलब्धी भएको बताउनु हुन्छ । पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफुहरुले राम्रो खेल्दाखेल्दै सडेन डेथमै हार व्यहोर्नु परेको बताउनु भयो । सहाराकोे टिम यस पाली केही मजबुद भएको उहाँको भनाई छ ।
यसैबिच, भोलि आइतबार दोश्रो क्वाटरफाइनल खेलमा चर्च व्वाईज यूनाइटेड र जावलाखेल युथ क्लव बिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।



