शनिबारदेखि पोखराको फोहोर उठाउने मेयर आचार्यको उद्घोष

-


     पोखरा क्लिक     
     माघ २८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २८ माघ,

एक महिनादेखि थुप्रिँदै आएको पोखराको फोहोर अब शनिबार (फागुन २ गते) देखि नियमित रूपमा उठाइने भएको छ। पोखरा महानगरपालिकाले आज (बुधबार) पोखरा सभागृहमा आयोजना गरेको सर्वदलीय–सर्वपक्षीय बैठक पछि पोखराका मेयर धनराज आचार्यले शनिबारदेखि बजार क्षेत्रसहित सम्पूर्ण वडामा फोहोर संकलनलाई नियमित बनाइने उद्घोष गर्नुभएको हो।

लामेआहाल ल्याण्डफिल साइड भरिएपछि वैकल्पिक स्थानको टुङ्गो नलाग्दा समस्या उत्पन्न भएको उल्लेख गर्दै मेयर आचार्यले तपाईँहरूले देख्नुभएको जटिल अवस्थालाई समाधान गर्न महानगर अल्पकालीन र दीर्घकालीन दुवै योजना अघि बढाइरहेको बताउनुभयो। “दर्जनौँ स्थानको अध्ययन गर्यौँ, तर विभिन्न कारणले निष्कर्षमा पुग्न सकेनौँ,” उहाँले भन्नुभयो, “अब तत्काल व्यवस्थापन गरी शनिबारदेखि नियमित उठान सुनिश्चित गर्छौँ।”

पछिल्लो एक महिनामा पोखराका सडक, चोक र बस्तीमा फोहोरको थुप्रो बढ्दै गएको छ। कहिलेकाहीँ मुख्य क्षेत्रबाट मात्र हटाइए पनि समग्र व्यवस्थापन नहुँदा समस्या झनै गम्भीर बनेको छ। केही दिनयता सडकको बीच भागमै फोहोर थुपारेर महानगरप्रति दबाब दिने प्रवृत्ति पनि देखिएको छ। पोखराका राजन श्रेष्ठले फोहोर व्यवस्थापनमा तपाईँहरूको ध्यानाकर्षण गराउन नै सडकको बीच भागमा फोहोर फालिएको बताउनुभयो। “कुनाकाप्चामा फाल्दा कसैले वास्ता गर्नुहुन्न, बीच सडकमा राख्दा सबैको ध्यान जान्छ,” उहाँले हामी समक्ष गुनासो गर्नुभयो ।

यता कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जथाभावी फोहोर फाल्ने कार्य कानुनविपरीत हुने स्पष्ट पार्नुभयो। “तपाईँहरूले अधिकारसँगै कर्तव्य पनि सम्झनुपर्छ। गैरकानुनी गतिविधि दण्डनीय हुन्छ, प्रशासन कानुन कार्यान्वयनमा सचेत छ,” उहाँले चेतावनी दिनुभयो। गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले पर्यटन राजधानी पोखराको छविमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै राज्य र नागरिक दुवैले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। “मुख्य जिम्मेवारी महानगरको भए पनि प्रदेश सरकार तपाईँहरूसँग सहकार्य गर्न तयार छ,” उहाँले बताउनुभयो।

नागरिक समाजका अगुवा तथा वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेलले सरसफाइ अभियानमा तपाईँहरूसँगै नागरिक समाज निरन्तर उभिने प्रतिबद्धता जनाउनुभयो। बैठकमा नेपाली काँग्रेसका नवीन सिग्देल, नेकपा एमालेका भेषराज बराल, नेकपाका विश्वप्रकाश लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (विप्लव), श्रम संस्कृति पार्टी लगायत दलका प्रतिनिधिहरूले महानगरलाई आवश्यक सहयोग गर्ने बताउनुभएको छ। मेयर आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जनताको माग र चासोअनुसार फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। एक महिनादेखि थुप्रिएको फोहोरका कारण पर्यटन, जनस्वास्थ्य र शहरको छविमा नकारात्मक प्रभाव परेको भन्दै सरोकारवालाहरूले अबको व्यवस्थापन दिगो र प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।



This will close in 20 seconds