कास्की–२ का कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोला घाइते, मनिपाल शिक्षण अस्पतालमा उपचार हुदै

-


     पोखरा क्लिक     
     माघ २५ गते २०८२ मा प्रकाशित


पोखरा,

कास्की क्षेत्र नं। २ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला चुनावी अभियानका क्रममा आफै सिँढीमा लडेर घाइते हुनुभएको छ । आइतबार अपराह्न चुनावी अभियान अन्तर्गत मतदाता भेटघाट गर्ने क्रममा सिँढीबाट चिप्लिएर लड्दा उहाँ घाइते हुनुभएको उहाँको निर्वाचन सचिवालयले जनाएको छ ।

दुर्घटनापछि उहाँलाई तत्काल पोखरा ११ फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उम्मेदवार बास्तोलाको देब्रे हात भाँचिएको छ । हाल उहाँको उपचार जारी रहेको अस्पताल श्रोतले पोखराक्लिकलाई जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसका युवा नेता सुवर्ण केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवार बास्तोला सिँढीबाट चिप्लिएर घाइते भएको जानकारी गराउँदै मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेका तस्बिर समेत सार्वजनिक गर्नुभएको छ । उहाँले उम्मेदवार बास्तोलाको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभएको छ । उम्मेदवार बास्तोलाको स्वास्थ्य लाभको कामना गर्दै समर्थक, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन् । नरेन्द्र बास्तोलालाई श्रोत बनाउदै केसीले उक्त घटना फेसवुकबाट सार्वजनिक गर्नु भएको हो ।