
पोखरा, माघ २४,
कास्की क्षेत्र नम्बर १ मा एमाले सहितका दल छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको छ । जेनजीको माग पूरा गर्ने जनताको भरोसाको रुपमा रहेको पार्टी नेकपा भएकोले उक्त पार्टीमा प्रबेश गरेको उहाँहरुले बताउनु भयो । उक्त अभियान अन्तर्गत शनिबार काहुँखोलामा आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा ५३ जना एमाले सहितका अन्य दलका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् ।
कार्यक्रममा रणबहादुर विश्वकर्मा सहितका ५३ जना एमाले सहितका अन्य दल छाडेर नेकपा प्रवेश गरेको उउनले जनाइन् । मादी १ सिक्लेसका सदस्य एवं खेलकुद विभागका केन्द्रिय सदस्य रोहित सुनारको समन्वयमा नेकपामा ठुलो सङख्यामा प्रवेश गरेका हुन् । विश्वकर्माले आफूसहित विश्वकर्मा समाजका अधिकांश घर परिवार नै नेकपामा समाहित भएको बताए । देश बदल्ने र जेनजीको माग सम्बोधन गर्ने पार्टी नेकपा मात्र देखेको बताउँदै उनले भने,‘हामी दलितको मुक्तिका लागि लडेको पार्टी पनि तत्कालीन माओवादी र अहिलेको नेकपा भएकाले हामी सबै नेकपामा समाहित भएका हौं ।’ कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले देशको विकास, समृद्दिको बाहक नेकपा भएको बताए । साथै जेनजीको मुद्दा बोक्ने पार्टी पनि नेकपा नै भएको उनको भनाई थियो ।
कास्की १ का प्रत्यक्षतर्फका उम्मेदवार राजकाजी गुरुङले नेकपा देशभक्तहरुको पार्टी भएको बताए । जेनजीको मुद्दासमेत नेकपाले उठाउँदै आएको बताउँदै उनले कृषि र पर्यटनबाट कास्की १ को विकासमा कायापलट गर्न सकिने बताए । कृषि, पर्यटन र हाईड्रोबाट कास्की १ को समृद्दि र विकासमा कायापलट गर्न सकिन्छ,उनले भने,‘हाईड्रोको स्वामित्व स्थानियलाई निश्चित प्रतिशत तोकेर यसमा स्थानियलाई अपनत्व दिलाउँदै आयआर्जनमा बृद्दि गर्न सकिन्छ ।’ नेकपा गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले नेकपा जनताको साथी भएको र यसले मात्रै देशको विकास गर्दै समाजवाद ल्याउन सक्ने बताईन् ।





