जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफल पोखरामा बरामद, दुई युवक पक्राउ

-


     पोखरा क्लिक     
     माघ २१ गते २०८२ मा प्रकाशित


पोखरा, २१ माघ

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको एक थान इन्सास राइफल पोखरामा लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं। २ भिमसेन टोलबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मंगलबार दिउँसो करिब ३ ः५५ बजे महोत्तरी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं। ९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल पोखरा महानगरपालिका वडा नं। २ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमारलाई नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले पोखराक्लिकलाई बताउनु भयो ।अनुसन्धानका क्रममा उनीहरूले गत भदौं २४ गते जेनजी आन्दोलनको क्रममा दुबै जना मिलेर प्रहरी कार्यालयबाट उक्त हतियार लुटी लगेको र पोखरा महानगरपालिका वडा नं २ भिमसेन टोलस्थित ईन्द्रबहादुर भारीको घर टहरोमा रहेको दाउराको खलियोभित्र लुकाइछिपाइ राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उक्त जानकारीपछि प्रहरी टोलीले देखाएको स्थानमा पुगेर दाउराको बीचमा लुकाइछिपाइ राखिएको अवस्थामा इन्सास राइफल बरामद गरेको जनाएको छ । बरामद गरिएको हतियारसहित दुवै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट हातहतियार खरखजना सम्बन्धी कसुरमा छ ९६० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शान्ति सुरक्षामा गम्भीर असर पार्ने यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारे ।