बाढीपहिरो प्रभावित २० विश्वकर्मा परिवारलाई विश्वकर्मा समाज नेपालको राहत

-


     पोखरा क्लिक     
     असाेज १८ गते २०८३ मा प्रकाशित


पर्वत, १८ असोज,

अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका–८, ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ। विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको तर्फबाट सोमबार घटनास्थलमै पुगेर प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, सोयाबिन, दाल, चिनी, चियापत्ती र आलुलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो।

साथै, प्रभावित परिवारलाई बसोबासमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओछ्याउनका लागि म्याटसमेत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री र सम्बन्धित वडाका वडाध्यक्ष मानबहादुर कुँवरको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्वकर्मा समाज नेपालका अध्यक्ष बेलबहादुर विश्वकर्माले बाढीपहिरोबाट प्रभावित परिवारको अवस्था अत्यन्तै दर्दनाक रहेको बताउनुभयो। प्राकृतिक विपद्का कारण स्थानीयवासीले भोग्नुपरेको पीडा र क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले प्रभावित परिवारको वर्तमान अवस्था बुझेर राज्यले उनीहरूको उचित व्यवस्थापन र पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष विश्वकर्माका अनुसार बाढीपहिरोका कारण गाउँका कतिपय परिवारका घर आंशिक रूपमा भत्किएका छन् भने कतिपयका घर पूर्ण रूपमा बगाएका छन्। अन्य घरहरूमा समेत क्षति पुगेको छ। यस्तो विषम परिस्थितिमा प्रभावित परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्न तथा उनीहरूलाई सामान्य जीवनमा फर्काउन सम्बन्धित सरकारी निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। राहत प्राप्त गरेपछि प्रभावित परिवारका सदस्यहरूले विपद्को यस कठिन घडीमा विश्वकर्मा समाज नेपालले आफ्नो समुदायप्रति चासो देखाउँदै घटनास्थलमै उपस्थित भएर सहयोग र हौसला प्रदान गरेकोमा आभार व्यक्त गरे। दुःख र समस्यामा परेका बेला समाजले देखाएको साथ, सहानुभूति र सहयोगले आफूहरूलाई ठूलो आत्मबल मिलेको उनीहरूले बताए।

विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्य भएको उल्लेख गर्दै विश्वकर्मा समाज नेपालले पीडित परिवारको दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बाढीपहिरोबाट क्षति बेहोरेका परिवारको सुरक्षित बसोबास, उचित व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइएको छ। विश्वकर्मा समाज नेपालको यस मानवीय पहलले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत प्रदान गर्नुका साथै समुदायबीच आपसी सहयोग, सद्भाव र एकताको सन्देशसमेत प्रवाह गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई साथ र हौसला प्रदान गर्दै समाजले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।



This will close in 20 seconds