नेपाली सेनाले गण्डकी प्रदेशमा एनसीसी अल्मुनाई एसोसिएसनको कार्यसमिति र सल्लाहकार समिति गठन गर्यो

-


     पोखरा क्लिक     
     माघ २० गते २०८२ मा प्रकाशित


पोखरा,

“राष्ट्रिय सुरक्षा नीति–२०७५” बमोजिम राष्ट्रिय सेवा दल, नेपाल स्काउट लगायत संस्थाहरूको सुदृढीकरण गर्दै स्वाभिमानी नागरिक, सभ्य एवं सु–संस्कृत समाज र राष्ट्र निर्माणको परिकल्पनाअनुरूप राष्ट्रिय हितप्रति समर्पित, अनुशासित र बफादार युवा जनशक्ति उत्पादन गर्ने उद्देश्य का साथ गण्डकी प्रदेश एनसीसी अल्मुनाई एसोसिएसनको १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

नेपाली सेनाको पश्चिम पृतना मुख्यालय, पोखरा मा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सेवा दलबाट प्रदान गरिने एनसीसी तालिम प्राप्त युवाहरूको छनोट गरी उक्त कार्यसमिति गठन गरिएको हो। यसैगरी, पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाको अध्यक्षतामा ७ सदस्यीय गण्डकी प्रदेश एनसीसी अल्मुनाई एसोसिएसनको सल्लाहकार समिति समेत गठन गरिएको समितिले पोखराक्लिकलाई जनाएको छ । सल्लाहकार समितिमा डा.दिल बहादुर क्षेत्री,डा.नारायण बराल,डोलराज श्रेष्ठ, मदन के.सी.आनन्दराज मुल्मी तथा अवकाश प्राप्त सहायक रथी लक्ष्मण थापा रहनुभएको छ ।

नवगठित समितिको पहिलो बैठकले राष्ट्रिय सेवा दलबाट एनसीसी तालिम प्राप्त युवा जनशक्तिलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा परिचालन गर्न विद्यमान संरचनामा रहेका चुनौती र खाडलहरूको पहिचान गर्ने, संस्थागत संरचना सुदृढ गर्दै समन्वित नेटवर्क विस्तार गर्ने, साथै दीर्घकालीन लक्ष्यसहितको कार्ययोजना तयार गर्ने निर्णय गरेको पश्चिम पृतनाका सेनानी हुमान सिंह कुंवरले बताउनु भयो ।

त्यसैगरी, युवाहरूको सक्रिय तथा स्वेच्छिक सहभागिता अभिवृद्धि गर्ने, विपद् व्यवस्थापन तथा उद्धार कार्य, प्राकृतिक तथा मानवजन्य प्रकोपका समयमा स्वयंसेवकको भूमिकामा परिचालन गर्ने, तथा समुदायमा आवश्यक नयाँ सम्भावित क्षेत्रहरूको पहिचान र विस्तार गर्ने विषयमा समेत महत्वपूर्ण छलफल र निर्णयहरू गरिएको उहाँले उल्लेख गर्नुभयो । सोही दिन पश्चिम पृतना मुख्यालयमै आयोजित “नेपाली सेनाको खेलकुद विकासलाई स्तरोन्नति गर्न अपनाउनुपर्ने उपाय” विषयक गोष्ठीको समापन समारोहका अवसरमा नव–नियुक्त सल्लाहकार तथा कार्यसमिति सदस्यहरूलाई नियुक्ति पत्र र परिचयपत्र (आईडी कार्ड) प्रदान गरिएको थियो। कार्यक्रमले गण्डकी प्रदेशमा राष्ट्रसेवा, अनुशासन र सामाजिक उत्तरदायित्वमा आधारित युवा नेतृत्व विकास मा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।