बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको फाइनल नजिक, नेपालको फाइनल प्रवेशको सम्भावना कायमै

-


     पोखरा क्लिक     
     माघ १९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १९ माघ

भारतलाई पराजित गर्दै बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । पोखरा रंगशालामा आज (सोमबार) सम्पन्न खेलमा बंगलादेशले भारतलाई २–० ले हराउँदै लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै बंगलादेशले २ खेलबाट ६ अंक जोड्दै फाइनल यात्रा लगभग पक्का जस्तै गरेको छ ।

यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । सोमबार नै भएको अर्को खेलमा घरेलु टोली नेपालले भुटानलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना कायम राखेको छ । नेपालको यो प्रतियोगितामा पहिलो जित हो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो । नेपालको जितमा सृजना बढुवाल र प्रजिता राइले एक एक गोलको गोगदान दिदा भूटानकी सोनम चोदेनले एक गोल फर्किएकी छन् ।

जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । नेपाल र भारत दुवैको समान २ खेलबाट ३–३ अंक भए पनि गोलअन्तरमा नेपाल अगाडि छ । नेपालको गोलअन्तर शून्य रहेको छ भने भारतको गोलअन्तर १ रहेको छ ।

भारतले भने सोमबार नै भएको पहिलो खेलमा साबिक विजेता बंगलादेशसँग २–१ को हार बेहोरेको थियो। भारतको यो प्रतियोगितामा पहिलो हार हो। भुटान भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । भुटान पहिलो खेलमा बंगलादेशसँग १२–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालसँग २–१ ले पराजित भयो।अब नेपालले आफ्नो अन्तिम समूह खेल बुधबार बंगलादेशसँग खेल्नेछ भने भुटानले भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणपछि अंक तालिकाका शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। नेपालले बंगलादेशविरुद्ध जित वा सकारात्मक नतिजा निकाल्न सके फाइनल प्रवेश गर्ने सम्भावना अझ बलियो हुनेछ ।