
दीननाथ बराल,
पोखरा, १८ माघ
नेपालकै प्रतिष्ठित २५औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ यही माघ २७ गतेदेखि सुरु हुने भएको छ। सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेसम्म पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम तयारी तिब्र पारिएको आइतबार क्लवमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा भारतका दुई सहित विदेशी ४ विदेशी, नेपालका चर्चीत र दुई विभागिय र आयोजक सहित १२ टिम सहभागी हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनु भयो ।यस पटकको प्रतियोगिता क्याराभान गोल्ड कपसहित २५औँ संस्करणका रूपमा आयोजना हुन लागेको क्लवले पोखराक्लिकलाई जनाएको छ ।
पुरस्कार राशिमा उल्लेख्य वृद्धि
२५औँ संस्करणमा प्रतियोगिताको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको छ । यस बर्ष करिब १७ प्रतिशतले पुरस्कार राषिमा बृद्धि गरिएको हो । यस वर्ष उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ, उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । गत वर्ष उपाधि विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । उपाधि विजेताको पुरस्कार २ लाख रुपैयाँ र उपविजेताको पुरस्कार १ लाख रुपैयाँ बृद्धि भएको हो ।
सहभागी टिमहरू, प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरा लगायतका नेपाली टिमहरूको सहभागिता रहनेछ । यस्तै भारतबाट बण्डरवोल्ड युनाइटेड (सिक्किम) सहित दुई टिम तथा उज्वेकिस्तानको आभा फुटबल क्लब र गोर्खा इन्टरनेशनल फुटबल क्लब, हङकङ विदेशी टोलीका रूपमा सहभागी हुनेछन् ।
अस्थायी फ्लडलाइटमा सन्ध्याकालीन खेल
२५औँ संस्करणलाई थप आकर्षक बनाउन ३५ फिट उचाइको अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेल सञ्चालन गरिने पूर्व अध्यक्ष बिक्रम थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार खेलको पहिलो हाफ उज्यालोमा र दोस्रो हाफ साँझको अध्यारोमा खेलाइनेछ । झापाबाट फ्लडलाइट ल्याएर जडान गर्दा करिब २० लाख रुपैयाँ खर्च लाग्ने मुल आयोजक समितिका सदस्य सचिव गंगाराज पौडेलले बताउनु भयो ।
फोटो प्रदर्शनी र सम्मान कार्यक्रम पनि
आहा–रारा गोल्ड कपसम्बन्धी फोटो प्रदर्शनी, क्लब तथा प्रतियोगितालाई सहयोग गर्ने व्यक्ति र संघसंस्थालाई सम्मान, तथा भिडियो सामग्रीसहित प्रतियोगिताको प्रचार–प्रसार गरिने कार्यक्रम पनि समावेश गरिएको छ । त्यसै गरी राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने जनाइएको छ ।हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । प्रतियोगिता सञ्चालनमा पोखरा महानगरपालिका संरक्षक, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाको विशेष सहयोग रहनेछ ।
हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश केसीले आहा–रारासँगको पुरानो सम्बन्धलाई निरन्तरता दिँदै प्रतियोगितालाई अझ उत्कृष्ट बनाउन सुझाव दिनुभयो । उहाँका अनुसार आहा तयारी चाउचाउ हालै पुनः बजारमा ल्याइएको छ । गत २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले जितेको निवर्तमान अध्यक्ष केशवराज बरालले बताउनु भयो । आयोजकका अनुसार २५औँ संस्करणको यो प्रतियोगिताले पोखरा पर्यटन वर्ष २०२५÷२६ को प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




