पुलिससँग गत वर्षको बदला लिँदै गण्डकीले टाइगर कपको उपाधि जित्यो

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८२ मा प्रकाशित


डि.एन.बी.
पोखरा १७, माघ

गत वर्ष फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको पीडा यसपटक गण्डकी प्रदेश भलिबल संघले जितमा बदल्दै टाइगर कपको उपाधि उचालेको छ। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा गण्डकीले पुलिसलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा गण्डकीले दबाबपूर्ण सुरुवातपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि रक्षा गर्‍यो। पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल पल्टाएको हो। गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

गत संस्करणको फाइनलमा पुलिससँग ३–१ को सेटमा पराजित हुँदै उपविजेतामा सीमित भएको गण्डकीले यस वर्ष ठीक उल्टो नतिजा निकाल्दै बदला पूरा गरेको छ। उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो। फाइनलमा पराजित नेपाल पुलिस क्लबले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो। तेस्रो स्थान हासिल गरेको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पायो। तेस्रो स्थानको खेलमा पर्वतले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।व्यक्तिगत विधातर्फ गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले २६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गरे। उत्कृष्ट सर्भर अद्नान खान, उत्कृष्ट लिविरो भीमबहादुर गाहा, उत्कृष्ट सेटर बलराम गुरुङ, उत्कृष्ट ब्लकर फहद राज, उत्कृष्ट स्पाइकर फकर वाट्टु र उत्कृष्ट प्रशिक्षक रमेश केसी घोषित भए। उनीहरुलाई जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो। महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जित्दा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बने। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको थियो। यसअघि शुक्रबार फाइनलमा पर्वत भलिबल संघ पुगेको भन्ने प्रारम्भिक जानकारी सार्वजनिक भए पनि प्राविधिक त्रुटि सच्याउँदै आयोजकले बेलुका नेपाल पुलिस क्लब नै फाइनल प्रवेश गरेको प्रेस विज्ञप्तिमार्फत स्पष्ट पारेको थियो।

विजयी खेलाडीहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्य, आयोजक संस्था टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, खेल संयोजक राजकुृमार गुरुङ, सहसंयोजक डोलराज पोखरेल लगायतले पुरस्कार वितरण गरे । उक्त अवसरमा खेल पत्रकारबाट केशव पाठक, भलिवल खेल क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका अन्तराष्ट्रिय रेफ्रि विकास गुरुङ, टाईगर ग्रुपका सदस्य खुमबहादुर थापालाई सम्मान गरिएको थियो । फाइनल खेलमा दर्शकहरुको अपार साथ सहयोगले आफुहरु निकै हौसिएको सचिव डिबी नेपालीले पोखराक्लिकलाई बताउनु भयो ।